
निर्वाचन र कित्ताकाटको अन्योलले घरजग्गा कारोबार सुस्त, फागुनमा १७ प्रतिशत राजस्व घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा घरजग्गा कारोबार र राजस्व संकलन दुवैमा उल्लेख्य गिरावट आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार माघको तुलनामा फागुनमा राजस्व संकलन १७.१७ प्रतिशतले घटेको हो ।
माघ महिनामा घरजग्गा कारोबारबाट ५ अर्ब ९९ लाख रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा उक्त रकम घटेर ४ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ । राजस्वसँगै कारोबार संख्या र लिखत पारितमा पनि कमी देखिएको छ । विभागका अनुसार माघमा १ लाख ५३ हजार ९ सय २० पटक घरजग्गा कारोबार भएकोमा फागुनमा १ लाख ११ हजार ४ सय ९४ पटक मात्रै कारोबार भएको छ । यता नयाँ घरजग्गा खरिदबिक्रीको तथ्यांक पनि निराशाजनक छ । माघमा ५० हजार ८ सय ३७ वटा नयाँ घरजग्गा किनबेच भएकोमा फागुनमा यो संख्या ३६ हजार ४ सय ७१ मा खुम्चिएको छ ।
भू–उपयोग नियमावली, २०७९ जारी भएपछि स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट पटक–पटक रोकिने र खुल्ने भइरहेको छ । सरकारले ३ पटक नियमावली संशोधन गरी कित्ताकाट खुलाए पनि हालसम्म ३३८ पालिकाले मात्रै पूर्ण रूपमा जग्गा वर्गीकरण गरेका छन् । चालु आर्थिक वर्षको सुरुवातदेखि नै घरजग्गा राजस्वमा अस्थिरता देखिएको छ । साउनमा ३ अर्ब २८ करोड र भदौमा ३ अर्ब १० करोड राजस्व उठेकोमा असोज र कात्तिकमा अझ गिरावट आई २ अर्ब ७४ करोड रुपैयाँमा झरेको थियो । मङ्सिर र पुसमा क्रमशः ४ अर्ब ८४ करोड र ५ अर्ब १७ करोड रुपैयाँ पुगेको राजस्व फागुनमा पुनः ओरालो लागेको हो ।
व्यवसायीहरूका अनुसार फागुनमा निर्वाचनको माहौल, करिब एक साताको सार्वजनिक बिदा र नयाँ सरकार गठनको पर्खाइले गर्दा लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा रहँदा कारोबार प्रभावित भएको हो । यसअघि भदौमा भएको जेनजी प्रदर्शनका कारण मालपोत कार्यालयहरूमा पुगेको क्षतिले पनि केही समय कारोबारमा असर पारेको थियो । स्थानीय तहले २०८२ असारसम्म जग्गा वर्गीकरण गरिसक्नुपर्ने समयसीमा पाएका छन् । तर सुस्त गतिको वर्गीकरणले बजार चलायमान हुन सकेको छैन ।

