
काबुलको पुनर्स्थापना केन्द्रमा पाकिस्तानको हवाई हमलामा ४०० जनाको मृत्यु



काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलस्थित एक लागूऔषध प्रयोगकर्ता पुनर्स्थापना अस्पतालमा सोमबार राति पाकिस्तानले गरेको हवाई हमलामा परी कम्तीमा ४०० जनाको मृत्यु भएको छ। तालिवान सरकारका प्रवक्ताका अनुसार यस भीषण आक्रमणमा अन्य २५० भन्दा बढी घाइते भएका छन्।
तालिवानका उप-प्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल ‘एक्स’ मा जानकारी दिए अनुसार, सोमबार राति ९ बजे २ हजार शय्याको ‘ओमिद’ पुनर्स्थापना केन्द्रलाई निशाना बनाएर आक्रमण गरिएको थियो। हमलाका कारण अस्पतालको ठुलो हिस्सा ध्वस्त भएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने त्रास फैलिएको छ। अहिले उद्धार टोलीहरू घटनास्थलमा आगलागी नियन्त्रण गर्न र पीडितहरूको खोजीमा जुटेका छन्।
यता, पाकिस्तानले भने तालिवानको दाबीलाई ‘झुटो र भ्रामक’ भन्दै अस्वीकार गरेको छ। पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयले आफूहरूले केवल सैन्य ठेगाना र आतंकवादी पूर्वाधारहरूलाई मात्र लक्षित गरेको स्पष्ट पारेको छ। पाकिस्तानका अनुसार काबुल र नान्गहारमा रहेका तालिवान र पाकिस्तानी तालिवानका प्राविधिक उपकरण र गोलाबारुद भण्डारण केन्द्रहरूमा ‘सटीक’ हमला गरिएको हो।
पछिल्लो समय यी दुई छिमेकी राष्ट्रहरूबीच द्वन्द्व चर्किएको छ। पाकिस्तानले अफगानिस्तानमा रहेका सशस्त्र समूहहरूले आफ्नो भूमिमा आक्रमण गरिरहेको आरोप लगाउँदै आएको छ भने तालिवानले त्यसलाई अस्वीकार गर्दै आएको छ।
यसैबीच, अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रतिवेदनकर्ता रिचर्ड बेनेटले यस घटनाप्रति दुःख व्यक्त गर्दै दुवै पक्षलाई संयमता अपनाउन र अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै नागरिक र अस्पताल जस्ता संरचनाको रक्षा गर्न आग्रह गरेका छन् ।

