
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग



भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका उद्योगी–व्यवसायीले माग गरेका छन् ।
रूपन्देहीको भैरहवास्थित उक्त विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । पर्यटन क्षेत्रमा झण्डै रु एक खर्बभन्दा बढी लगानी भइसकेको भए पनि अपेक्षित परिणाम नआउँदा लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको पर्यटन व्यवसायी अमित गुप्ताले बताए ।
लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट तथा रोहिणी नदी आसपासका क्षेत्र ऐतिहासिक, धार्मिक र बौद्ध सभ्यतासँग जोडिएका महत्वपूर्ण गन्तव्य हुन् । ती क्षेत्रको प्रवद्र्धनमा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको भए पनि पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी पहल हुन नसक्दा यस क्षेत्रको पर्यटन प्रवद्र्धन हुन सकेको छैन् ।
सिद्धार्थ उद्योग वाणिज्य सङघका अध्यक्ष नेत्रप्रसाद आचार्यले अब गठन हुने नयाँ सरकारले पर्यटन प्रवद्र्धन र विमानस्थल सञ्चालनमा प्रभावकारी भूमिका खेल्ने विश्वास निजी क्षेत्रले लिएको बताए ।

