
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी



काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिका– ४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा यसपाली दोस्रोपटक आए । ‘यसअघि तातोपानीमा प्राकृतिक उपचार गराएपछि निको भएको ग्यास्ट्रिकको समस्या दोहोरिन नदिन यसपाली पनि आएको हो,’ उनले भने, ‘तातोपानीमा शरीर डुबाउने र पानी सेवन गर्नाले स्वास्थ्यलाई फाइदा गरेको महसुस गरेको छु ।’
धवलागिरी गाउँपालिका– ३ मुनाका बुद्धिमान पुन छालासम्बन्धी समस्याको उपचारका लागि तातोपानी कुण्डमा आएको आइतबार ६ दिन भयो । सुरुका दिनको तुलनामा स्वास्थ्यमा सुधार हुँदै गएको उनले बताए ।
चितवनको भरतपुरकी चमेली घर्तीक्षेत्री पछिल्लो दश वर्षयता नियमित रूपमा वर्षको एक हप्ता तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि आउने गर्छिन् । ‘खाना नरुच्ने, अपच हुने, ढाड दुख्ने समस्या निको भएकाले हरेक वर्ष तातोपानी डुब्न आउने गरेकी छु,’ उनले भनिन्, ‘तातोपानीमा प्राकृतिक उपचार गराउँदा अस्पताल जानआउन लाग्ने समय र औषधि किन्दा हुने खर्चको बचत भएको छ ।’
चालिसे, पुन र घर्तीक्षेत्रीजस्तै धेरै सर्वसाधारणहरूका लागि तातोपानी कुण्ड बरदान बनेको छ । वार्षिक २० हजार जनाभन्दा बढी नेपालका ७७ वटै जिल्ला र विदेशबाट समेत सर्वसाधारणहरू प्राकृतिक उपचारका लागि आउने गरेका सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताए ।
‘म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सीयस तापक्रममा निस्कने तातोपानीलाई संकलन गरेको पोखरीमा स्नानको व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘बिरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।’
महिला र पुरुषको लागि स्नानका लागि फरक/फरक समय तालिका बनाइएको छ । तातोपानीमा स्नान गर्दा एक जनाको रोग अर्कामा नसर्ने सचिव केसीले बताए । एकपटकमा २५० जना स्नान गर्न मिल्ने पोखरी रहेको छ ।
छोटो समय स्नान गर्नेहरूका लागि अर्को पोखरी बनाइएको छ । एकान्तमा स्नान गर्नेहरूका लागि उपल्लो बजारनजिकै अर्को पोखरी पनि सञ्चालनमा ल्याइएको छ । कुण्डमा स्नान गरेपछि बाक्लो कपडाले बेरेर शरीरलाई न्यानो बनाउने गरिन्छ । पोखरीमा स्नानका साथै तातोपानी सेवन पनि गर्ने चलन छ ।
हिजोआज दैनिक १ हजार २०० जनाले तातोपानी कुण्डमा स्नान गरिरहेका सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सदस्य मिना जुग्जाली गर्बुजाले बताइन् । ‘बिहान ५ः३० देखि साँझ ५०ः३० बजेसम्म महिला र पुरुषको ६ वटा समूह बनाएर स्नानको व्यवस्था मिलाइएका छौँ,’ उनले भनिन्, ‘असोज, कात्तिक, मंसिर, पुस, माघ, फागुन, चैत र वैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो ।’
चुनावका कारण फागुन महिनामा तातोपानी स्नान गर्न आउनेहरूको संख्या कम भएको थियो । चुनावलगत्तै तातोपानीमा चहलपहल र चाप बढेको छ । १० दिन स्नान गर्न प्रतिव्यक्ति ३५० शुल्क तिर्नुपर्छ । प्रवेश शुल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ ।

