
कस्तुरी फर्मास्युटिकल्स आईपीओ ल्याउने तयारीमा, बिक्री प्रबन्धकमा रिलायवल क्यापिटल इनभेष्टमेन्ट



काठमाडौं । भरतपुर चितवनमा प्रथम औषधि उद्योगको रुपमा स्थापना भएको कस्तुरी फर्मास्युटिकल्स लि. ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी गरेको छ । कम्पनीले आईपीओ ल्याउनका लागि सम्पूर्ण प्रक्रिया पुरा गरेको र नयाँ सेयरधनी लागत प्राप्त हुनासाथ नेपाल धितोपत्र बोर्ड (सेवोन) मा जाने निर्णय गरेको हो ।
कम्पनीको हाल चुक्ता पूँजी रु. ५० करोड रहेको र रु.१४ करोड संस्थापकहरुमा थप जारी गरि रहेको छ । कम्पनीले तत्कालै सर्वसाधारणको लागि रु.१६ करोडको १६ लाख कित्ता आईपीओ जारी गर्न यहि चैत्र मासान्त भित्र सेवोनमा निवेदन दिन लागेको छ । तत्पश्चात कम्पनीको कुल चुक्ता पुँजी रु.८० करोड हुनेछ । यस कार्यका लागि रिलायवल क्यापिटल इनभेष्टमेन्ट एण्ड मर्चेन्ट लि लाइ बिक्रि प्रबन्धक नियुक्ति गरेको छ ।
आईपीओको लागि कम्पनीले इन्फोमेरिक्स नेपाल संग क्रेडिट रेटिङ्ग गराइ सकेको र बीबी माइनस रेटिङ्ग प्राप्त गरेको छ । उक्त रेटिङ्ग ले कम्पनीको वित्तिय अवस्था सुदृढ रहेको र जोखिम न्युन रहेको देखाउँछ । कम्पनीले विगतमा लिएको कर्जालाई भुक्तानी गरि अत्यन्त न्युन कर्जा प्रयोग गरेको छ । हाल जम्मा रु.२४ करोड कर्जा रहेको छ । विगतमा कम्पनीले मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गरेको र आगामि दिनमा समेत लाभांश वितरण गर्ने लक्ष्य लिएको छ । कम्पनीको हालको प्रतिसेयर नेटवर्थ (पौष अन्त, २०८२) मा रु.१२९.९३ रहेको र सेवोनको लागि आवश्यक वास्तविक नेटवर्थ रु.९२.०५ रहेकोछ । यस वर्षको अन्त्यमा उक्त वास्तविक नेटवर्थ रु.११२.८१ पुग्ने छ ।
भरतपुर चितवनमा प्रथम औषधि उद्योगको रुपमा स्थापना भएको कस्तुरी फर्मास्युटिकल्स लि. ले विगत १३ वर्ष देखि औषधि उत्पादन गरि रहेको छ । करिब १ विघा १० कटठा क्षेत्रफलमा फैलिएको उद्योगले औषधि उत्पादन गरि देश भरिको विक्री डिपोहरुमा आफ्नो औषधि पठाइ रहेको छ । विश्व स्वास्थय संगठन र राम्रो उत्पादन अभ्यास (जीएमपी) ९००१ प्राप्त गरेको यस कम्पनीले हाल १८२ भन्दा बढि औषधिहरुको उत्पादन अनुमति लिएको छ भने १२५ भन्दा बढि औषधिहरु बजारमा बिक्रि गरिरहेको छ । यस कम्पनीका कार्यकारी अध्यक्ष प्रवेक खनाल र प्रबन्ध निर्देशक इश्वर भण्डारी विगत तिन दशक देखि यस क्षेत्रमा आवद्ध रहेका अनुभवि व्यवसायिहरु भएको कम्पनीले जनाएको छ ।

