
कर्णालीमा कांग्रेस पहिलो पार्टी, रास्वपाको एक सिट मात्रै



काठमाडौं । गत बिहीबार सम्पन्न भएको निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर चलेपनि कर्णालीमा भने प्रत्यक्षमा रास्वपा कमजोर देखिएको हो ।
कर्णालीका १२ वटा क्षेत्रमध्ये रास्वपाले १ क्षेत्रमा मात्रै जित निकाल्न सफल भयो । कर्णाली प्रदेशमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । प्रदेशका १२ सिट मध्ये ५ सिट जित्दै कांग्रेस पहिलो पार्टी बनेको हो । कर्णालीमा ४ सिट जित्दै नेपाली कम्युनिस्ट पार्टी दोस्रो पार्टी बनेको छ भने नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले एक एक सिट जितेका छन् ।
कांग्रेसबाट मुगुमा खड्ग शाही, हुम्लामा जयपति रोकाय, जाजरकोटमा खड्कबहादुर बुढा, दैलेख १ मा वासना थापा र सुर्खेत– १ मा विष्णुबहादुर खड्का निर्वाचित भए । नेपाली कम्युनिस्ट पार्टीबाट कालिकोटमा महेन्द्रबहादुर शाही, सल्यानमा रमेश मल्ल, रुकुम पश्चिममा गोपाल शर्मा र डोल्पामा धनबहादुर बुढा निर्वाचित भए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जुम्लामा ज्ञानबहादुर शाही निर्वाचित हुँदा एमालेबाट दैलेख २ मा लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुर्खेत २ मा रमेश सापकोटा निर्वाचित भए ।

