
कानुन अभावले ‘नो भोट’को व्यवस्था लागु गर्न सकेनौँ : कावा प्रमुख आयुक्त भण्डारी



निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले कानुन अभावका कारण ‘नो भोट’को व्यवस्था गर्न नसकेको बताएका छन् । मतदान सम्पन्नपछि बिहीबार आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले कानुनी बाध्यता बताएका हुन् ।
‘कानुनको अभावमा नो भोटको व्यवस्था गर्न सकेनौँ । सरकारले कानुन बनाइदिएको भए अहिले प्रश्न उठ्दैनथ्यो । कानुन नबनाइकन नो भोटको व्यवस्था गरेको भए अन्तर्राष्ट्रिय कानुनले वैधता नदिन पनि सक्थ्यो,’ उनले भने, ‘दुई वर्षअघि पनि कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका थियौँ ।‘
बेलैमा कानुन बन्न नसक्दा यो निर्वाचनमा ‘नो भोट’को व्यवस्था लागु गर्न नसकेको उनको भनाइ छ । ‘आगामी निर्वाचनमा यो समस्या हल हुन्छ’, भण्डारीले भने ।

