
मोरङमा ६४.५६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन धमाधम



विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय, मोरङले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लाभर कुल ६४.५६ प्रतिशत मतदान भएको छ । मोरङका ८८८ वटा मतदान केन्द्रहरूमा भएको मतदानमा कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५१४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
मतदान गर्नेहरूमा महिलाको संख्या पुरुषको तुलनामा बढी देखिएको छ । तथ्यांक अनुसार २ लाख ६२ हजार १९६ महिला, २ लाख ४३ हजार ३१६ पुरुष र २ जना अन्य लिङ्गी मतदाताले मतदान गरेका छन् । जिल्लाका ६ निर्वाचन क्षेत्रमध्ये मोरङ क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी ७१.२८ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा कुल १ लाख १० हजार १७७ मतदातामध्ये ७८ हजार ५२९ जनाले मतदान गरेका छन् ।
त्यसैगरी, क्षेत्र नम्बर ४ मा ६७.१५ प्रतिशत र क्षेत्र नम्बर ६ मा ६६.२३ प्रतिशत मतदान भएको छ । क्षेत्र नम्बर १ मा भने सबैभन्दा कम ६०.३६ प्रतिशत मात्र मत खसेको तथ्याङ्कले देखाएको छ ।
क्षेत्र नम्बर १ मा ६०.३६ प्रतिशत अर्थात् ७७ हजार ५८५ मतदान भएको छ । यस्तै क्षेत्र नम्बर २ मा ६२.९७ प्रतिशत अर्थात् ८१ हजार ३४५, क्षेत्र नम्बर ३ मा ६१.१७ प्रतिशत अर्थात् ९६ हजार ६७७ मत, क्षेत्र नम्बर ४ मा ६७.१५ प्रतिशत अर्थात् ८० हजार ८४ मत खसेको छ । मोरङको क्षेत्र नम्बर ५ मा ७१.२८ प्रतिशत अर्थात् ७८ हजार ५२९ मत र क्षेत्र नम्बर ६ मा ६६.२३ प्रतिशत अर्थात् ९१ हजार २९२ मत खसेको छ ।
जिल्लाभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र अब मतपेटिका संकलन गर्ने कार्य भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

