
भोट खसाएपछि ओलीले भने– एमालेले भनेपछि देशले मलाई प्रधानमन्त्री बनाउँछ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने आत्मविश्वास प्रकट गरेका छन् । आज बालकोटमा मतदान गरेपश्चात् पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो आत्मविश्वास देखाएका हुन् ।
ओलीले चुनावमा एमालेले भरसक बहुमत ल्याउने र त्यो नभए पनि पहिलो पार्टी अवश्य बन्ने ठोकुवा गरे । उनले भने, ‘मैले पहिले पनि भनेको हो, हामी बहुमत ल्याउँछौँ । कथंकदाचित बहुमत आएन भने पनि एमाले पहिलो पार्टी बन्छ । त्यसमा कुनै शंका छैन ।’
त्यसो भए चुनावपछि तपाईँ प्रधानमन्त्री बन्नुहुन्छ रु भन्ने पत्रकारको प्रश्नमा ओलीले जवाफ दिए, ‘मेरो पार्टीले मलाई प्रधानमन्त्री भन्न भन्या छ । मेरो पार्टीले भनेपछि देशले बनाउँछ ।’ अघिल्लो चुनाव र यो चुनावमा के फरक पाउनुभयो रु भन्ने पत्रकारको प्रश्नमा ओलीले यस्तो जवाफ दिए, ‘यसपटक अनावश्यक हल्ला, मतदातालाई दिग्भ्रमित पार्ने दुश्प्रयास, जनतालाई अलमल्याएर कुनै योगदान नभएका तत्त्वहरूले भ्रममा पारेर घृणा र प्रतिशोधको राजनीति गरेर देशलाई अन्योलको भुमरीमा पार्ने र त्यसबाट लाभ लिन खोज्ने स्वार्थी तत्त्व हाबी हुन खोजेको अवस्था हो । पहिलेभन्दा फरक यही छ ।’ आफूले मतदान गरेको क्षेत्रमा महेश बस्नेतको जित निश्चित रहेको ओलीले बताए ।

