
इरानमा खामेनीका छोरालाई उत्तराधिकारी बनाउने तयारी, तर इजरायलले दियो मार्ने धम्की



काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीका छोरा मोज्तबालाई आफ्ना पिताको सम्भावित उत्तराधिकारीको रूपमा तयारी गरिएको छ । तर तेहरानबाट अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भएको छैन । न्यूयोर्क टाइम्सले इरानी अधिकारीहरूलाई उदृत गर्दै यो घोषणा आजै हुन सक्ने जनाएको छ । सर्वोच्च नेताको रूपमा आयतुल्लाह अली खामेनी राष्ट्रपतिभन्दा माथि थिए । इरानका सशस्त्र बलहरू, जसमा इस्लामिक रेभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी) समावेश छ, माथि अन्तिम निर्णय गर्ने अधिकार उनीसँग थियो ।
रिपोर्टका अनुसार धर्मगुरुहरूले मंगलबार दुई वटा भर्चुअल बैठकहरू गरेका थिए । केहीले मोज्तबालाई नयाँ सर्वोच्च नेता घोषणा गर्दा उनी अमेरिका र इजरायलको निशानामा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् । विगतमा मोज्तबालाई आफ्ना पिताको उत्तराधिकारी नामांकन गर्दा राज्य राजतन्त्र जस्तो देखिने भन्दै विरोध पनि भएको थियो । इरानमा १९७९ को इस्लामिक क्रान्तिले राजतन्त्र उखेलेको थियो । न्यूयोर्क टाइम्सको यो रिपोर्ट विपक्षी सञ्चारमाध्यम ‘इरान इन्टरनेसनल’ ले विशेषज्ञ सभाले मोज्तबालाई पहिले नै चयन गरेको दाबी गरेपछि आएको हो । यसको इरान सरकारबाट कुनै आधिकारिक पुष्टि भने भएको छैन ।
यसैबीच इजरायलले इरानमा जो उत्तराधिकारी भएर आए पनि सिध्याउने चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले एक वक्तव्यमा भनेका छन्, ‘इरानी आतंकवादी शासनले इजरायलको विनाश गर्ने, संयुक्त राज्य अमेरिका र स्वतन्त्र विश्व तथा क्षेत्रका देशहरूलाई धम्की दिने र इरानी जनतालाई दबाउने योजनालाई जारी राख्न नियुक्त गरेको कुनै पनि नेता, नाम जे भए पनि वा उ जहाँ लुके पनि, निजलाई सिध्याउने हाम्रो स्पष्ट लक्ष्य हुनेछ । हामी अमेरिकासँग मिलेर पूरै तागतका साथ यो शासनलाई कमजोर बनाउँछौँ र यसलाई फालेर नयाँ सरकार बनाउने मौका इरानी जनतालाई दिन्छौँ ।’
युद्धको निर्णय गर्नुअघि पेन्टागनले प्रस्तुत गरेका योजनाहरूमध्ये एउटामा खामेनी र सम्भावित उत्तराधिकारी उनका छोरा मोज्तबालाई मार्ने योजना समावेश रहेको ट्रम्पका एक सल्लाहकारले बताएका छन् । ‘राष्ट्रपतिले के छनोट गर्नुहुन्छ कसैलाई थाहा छैन, मलाई लाग्छ उहाँ आफैँलाई पनि थाहा छैन,’ सल्लाहकारले थपेका छन् ।
ट्रम्पले इजरायलसँग समन्वयमा शनिबार ‘अपरेशन एपिक फ्युरी’ सुरु गर्ने निर्णय गरे । त्यसअनुसार अमेरिका–इजरायलको संयुक्त हमलाहरू तेहरान सुरु भयो, जसमा वरिष्ठ सैन्य कमान्डरहरू मारिए । मारिनेमा आयतुल्लाह अली खामेनी पनि थिए । यी हमलाहरूमा इरानका रक्षा मन्त्री, आईआरजीसीका कमान्डर–इन–चीफ र इरानका सशस्त्र बलका चिफ अफ स्टाफ पनि मारिएका छन् ।
नयाँ रक्षा मन्त्री पदभार ग्रहण गरेको दुई दिनपछि नै मारिएका थिए । आईआरजीसीले यसलाई ‘इस्लामिक गणतन्त्र इरानको इतिहासमा सबैभन्दा विनाशकारी आक्रमण’ भनेको छ । तेहरानले खामेनेईको हत्याको प्रतिशोधमा इजरायल र क्षेत्रका २७ वटा अमेरिकी आधारहरूमा व्यापक मिसाइल र ड्रोन हमलाहरू गर्ने प्रतिबद्धता जनाएको छ ।

