
बढ्यो वाणिज्य बैंकहरूको सुनचाँदी कर्जा: ६ महिनामा करिब ९२ अर्बको कर्जा प्रवाह



काठमाडौं । पछिल्लो समय बैंकबाट सुनचाँदी कर्जा प्रवाह बढ्दै गइरहेको छ । आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा वाणिज्य बैंकहरुको कर्जा बढ्दै गएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको हो ।
चालु आवको ६ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ९१ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबरको सुनचाँदी कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले सुनचाँदी धितो राखेर प्रवाह गरिने कर्जा ६४ अर्ब २४ करोड ७० लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सञ्चालनमा रहेको २० वाणिज्य बैंकमध्ये १४ बैंकले मात्र सुनचाँदी कर्जा प्रवाह गरेका छन् । बाँकी ६ वटा बैंकहरुले भने सुनचाँदी धितो राखेर कर्जा प्रवाह गरेका छैनन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सुनचाँदी धितो राखेर सबै भन्दा धेरै कर्जा प्रवाह गर्ने बैंकमा नेपाल बैंक रहेको छ । नेपाल बैंकले ६ महिनामा मात्रै ४४ अर्ब १५ करोड ९० लाख रूपैयाँ बराबरको सुनचाँदी धितोमा राखी कर्जा प्रवाह गरेको छ । त्यस्तै यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ३१ अर्ब ९९ करोड २० लाख रूपैयाँ उकत कर्जा प्रवाह गरेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा प्राइम बैंकले ८ अर्ब २२ करोड ४० लाख, नेपाल इन्भेस्टमेन्ट मेगाले २ अर्ब ९७ करोड ४० लाख, नबिल बैंकले २ अर्ब ६७ करोड ६० लाख, लक्ष्मीसनराइजले ८५ करोड ९० लाख, सिटिजन्स बैंकले ७३ करोड ५० लाख रुपैयाँ सुनचाँदी धितो कर्जा प्रवाह गरेका छन् ।
त्यस्तै माछापुच्छ्रे बैंकले २६ करोड ४० लाख, सिद्धार्थ बैंकले २९ लाख, एनआईसी एसिया बैंकले ११ लाख, प्रभु बैंकले ५ लाख रुपैयाँको सुनचाँदी धितो राखेर कर्जा प्रवाह गरेका छन् । त्यस्तै कुमारी बैंकले ४ लाख, एनएमबी बैंकले ३ लाख र कृषि विकास बैंकले २ लाख रुपैयाँको कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सिटिजन्स बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक, कृषि विकास बैंक र कुमारी बैंकको सुनचाँदी धितो कर्जा घटेको छ भने अन्य बैंकको बढेको छ । यो अवधिमा कुमारी बैंकको यस्तो कर्जा प्रवाह ७.५२ प्रतिशतले घटेको छ । एनआईसी एसिया बैंकको ४६.६५ प्रतीशत, प्रभु बैंकको ४०.८३ र कृषि विकास बैंक ८२.५० प्रतीशतले घटेको छ । त्यस्तै सिटिजन्स बैंकको सुनचाँदी धितो कर्जा ३३.७२ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक , नेपाल एसबीआई, एभरेष्ट बैंक, ग्लोबल आइएमई र सानिमा बैंककले यस्तो कर्जा प्रवाह गरेका छैनन् ।

