
भक्तपुरमा कार दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते



काठमाडौं । भक्तपुरमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी काठमाडौं महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका योगेन्द्र र सुरेन्द्रको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अन्य दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

