
मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइँदै



मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइने भएको छ । यहाँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतदानस्थलमा छ कर्मचारी रहने गरी उक्त सङ्ख्यामा निर्वाचनस्थलमा कर्मचारी खटाउने तयारी गरेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दीपेन्द्र पौडेलका अनुसार मुस्ताङका ३९ मतदानस्थलमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृत गरी ७८ जना कर्मचारी खटाइने तयारी भइरहेको छ । निर्वाचनका लागि एक मतदान स्थलमा एक जना मतदान अधिकृत,एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी खटिने सहायक निर्वाचन अधिकृत पौडेलले बताए।
घोषित प्रतिनिघिसभा सदस्य निर्वाचनका लागि निर्वाचनमा खटाइने कर्मचारीहरु पहिलो प्राथमिकतामा सङ्घीय कार्यालय, दोस्रो प्राथमिकतामा प्रादेशिक कार्यालय र तेस्रो प्राथमिकतामा स्थानीय तहका कर्मचारीलाई समावेश गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला कारागार मुस्ताङको अस्थायी मतदानस्थलका लागि पनि थप मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी छ जना कर्मचारी खटाइने बताएको छ ।
यसैगरी हिमाली जिल्ला मुस्ताङमा ५०० भन्दा बढी मतदाता रहेको मतदानस्थलको सङ्ख्या आठ वटा र ५०० भन्दा कम मतदाता रहेको मतदानस्थलको सङ्ख्या ३१ वटा रहेको जनाइएको छ । यसका अलवा थप एक अस्थायी मतदान केन्द्र जिल्ला कारागारा शाखामा कायम गरिएको छ ।
निर्वाचनका लागि यहाँका ३९ मतदानस्थलमा ८६ स्वयंसेविक परिचालित हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५०० भन्दा बढी मतदाता रहेको मतदानस्थलमा तीन जना स्वयंसेविक र ५०० भन्दा कम मतदाता रहेको मतदानस्थलमा दुई जना स्वयंसेविक राख्न पाउने व्यवस्था मिलाइएको छ । निर्वाचनमा खटाइने स्वंयसेवकहरु सम्बन्धित मतदानस्थलमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको सिफारिसमा नियुक्ति गरिने जनाईएको छ ।
यसैगरी जिल्ला निर्वाचन कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग र खाद्यसंस्थान गरी ९५ प्रतिशत निर्वाचन सामग्री उपलब्ध भइसकेको जनाएको छ । मतपेटिका बाकस कार्यालयमै रहेको मतपत्र ढुवानी हेलिकप्टर मार्फत उपलब्ध हुने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।

