
अहिलेको प्रश्न बाटो बन्यो कि बनेन होइन, देश रहने वा नरहने भन्ने हो : लिङ्देन



विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले आफ्नो चुनावी अभियान सुरु गरेका छन् । उनले चुनावी अभियान सुरु गर्दै देश रहने कि नरहने अवस्था रहेकाले देश जोगाउन सबैले आफूलाई मत हाल्न आग्रह गरे । उनले बाटो बन्यो या बनेन ? पुल बन्यो या बनेन भन्ने प्रश्न भन्दा पनि देश रहन्छ कि रहँदैन भन्ने अवस्थामा पुगेको बताए ।
निर्वाचन कार्यक्रमको सुरुवात गर्दै लिङ्देनले भने,‘ बाटो बन्यो कि भन्ने कुरा ठुलो कुरा होइन । आज देश रहन्छ कि रहँदैन भन्ने अवस्थामा पुगेको छ । यस्तो बेला राष्ट्रिय प्रजातन्त्र पार्टी देशभक्तिको पक्षमा उभिएको छ । यसको नेतृत्व तपाइको आँगनको छोराले गरेको छ ।’
उनले विकास भयो कि भएन भन्ने कुराको गुनासो गरिँदा ८ बषको बिचमा के के भयो त्यसको साक्षी क्षेत्रबासी भएका बताए । उनले देश बचाउनका लागि आफूलाई मतदाता गर्न आग्रह गरे । उनले भने ‘देश रह्यो भने बाँकी विकास र समस्याको समाधान गरौंला देश बचाउनका लागि राप्रपाको मात्रै होइन मलाई काँग्रेस, एमाले, माओवादी सबैको भोट चल्छ ।’
उनले झापा ३ मा आफू बुबाका औंला समाउँदै आएको बताए । उनले भने, ‘यहाँ आएर म र मेरो परिवारले निगुरोका मुन्टा चिमोटेर र ठुटामा पलाएको च्याउ टिपेर छाक टारेको छ ।’ उनले झापा ३ का विभिन्न क्षेत्रको बाटो बनाउन, स्कुल बनाउन, खानेपानीको ट्याङ्की ठड्याउने विषयमा आफ्नो सहभागिता रहेको दाबी गरे ।
उनले यस क्षेत्रका दिदी–बहिनी, दाजुभाईका सुख दुःखमा सहभागी भएको दाबी गरे । उनले भने, ‘यस पटक फेरी म तपाँइहरुको हात माग्न आएको छु । तपाँइहरुको मद्दत र आर्सीवाद माग्न आएको छु ।’ उनले पार्टी भन्दा माथि उठेर मत दिन आग्रह समेत गरे । उनले कुनै बेला विद्यार्थी हुँदा कसैले ढुङ्गा हान्दा आफूले पनि ढुङ्गा हानेको बताए । कसैले दुई लात्ती हान्दा आफूले पनि हानेको स्वीकार गर्दै उनले भने,‘ मैले त्यो बेला जवाफ फर्काए हुँला तर राजनीतिक आडमा कसैलाई दुःख दिने नियत राखेको छैन ।’

