
शिवम सिमेन्टको नाफामा ५२८ प्रतिशतको छलाङ, अन्य सूचक कस्ता ?



काठमाडौं । चालु आर्थिक वर्षकाे पहिलाे ६ महिनामा शिवम सिमेन्टकाे नाफा ५२८.५२ प्रतिशतले बढेको छ।निर्माण क्षेत्रमा आएको सुस्तताका बाबजुद कम्पनीले आफ्नो उत्पादन लागत र खर्चमा गरेको प्रभावकारी नियन्त्रणका कारण मुनाफामा यस्तो उल्लेख्य सुधार देखिएको हो।
कम्पनीले सार्वजनिक गरेकाे चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार साउनदेखि पुस मसान्तसम्म कम्पनीले ३५ करोड ७० लाख रुपैयाँ नाफा कमाएकाे छ ।
गत आर्थिक वर्ष २०८१/८२ को पुससम्म कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यस अवधिमा कम्पनीको मुख्य व्यावसायिक आम्दानीमा भने सामान्य गिरावट देखिएको छ। गत वर्षको पुस मसान्तसम्म ३ अर्ब १० करोड १६ लाख रुपैयाँ रहेको सिमेन्ट बिक्री आम्दानी यस वर्ष सामान्य ०.११ प्रतिशतले घटेर ३ अर्ब ९ करोड ८२ लाख रुपैयाँमा झरेको छ।
यद्यपि, वस्तु उत्पादन तथा बिक्री लागतमा भएको ९.५४ प्रतिशतको गिरावटले कम्पनीलाई ठुलो राहत दिएको छ। गत वर्ष २ अर्ब ७० करोड १५ लाख रुपैयाँ रहेको यस्तो लागत यस वर्ष २ अर्ब ४४ करोड ३७ लाख रुपैयाँमा सीमित भएपछि कम्पनीको कुल नाफा ६५ करोड ४४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६३.५० प्रतिशतले बढी हो।
प्रतिवेदन अनुसार कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १२.७७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८०.३८ रुपैयाँ कायम भएको छ।
समिक्षा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ सञ्चित छ।
बजारमा सिमेन्टको माग कम हुनु र विद्युत महसुल लगायतका विषयमा कानूनी विवाद कायमै रहनुलाई कम्पनीले चुनौतीको रूपमा लिएको छ, तर आन्तरिक खर्च व्यवस्थापनमा देखिएको कुशलताले गर्दा लगानीकर्ताहरूका लागि यो त्रैमास सुखद देखिएको छ।

