
प्राइम कमर्सियल बैंकको नाफा ९ प्रतिशतले बढ्यो, कुन सूचक कस्ता ?



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही समयमा ९.२७ प्रतिशतले नाफा बढेको हो ।
बैंकले चालू आवको ६ महिनासम्मको अवधिमा २ अर्ब ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा बैंकको नाफा १ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ रहेको थियो । त्यसैगरी बैंकले चालू आवको ६ महीनामा ४ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले गत आवको यसै अवधिमा ४ अर्ब ४१ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसरी बैंकको खुद ब्याज आम्दानीमा पनि ५.३० प्रतिशतको बढोत्तरी देखिएको छ ।
त्यस्तै बैंकको खुद फी तथा कमिशन आम्दानीसँगै सञ्चालन नाफा पनि गत आवको तुलनामा चालू आवमा वृद्धि भएको वित्तीय विवरणले देखाएको छ । बैंकको खुद फी तथा कमिशन आम्दानी ८९ करोड ३१ लाख रुपैयाँबाट १५.४२ प्रतिशतले वृद्धि भई १ अर्ब ३ करोड ८ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ५ अर्ब ६३ करोड ६० लाख रुपैयाँबाट ९.७८ प्रतिशतले वृद्धि भई ६ अर्ब १८ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
यसरी आम्दानीमा वृद्धि भएपछि बैंकको सञ्चालन नाफा पनि ३ अर्ब १८ करोड ६९ लाख रुपैयाँबाट ६.५४ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ५३ लाख रुपैयाँ पुगेको छ । आम्दानी र नाफामा वृद्धि भए तापनि बैंकको वितरणयोग्य मुनाफा भने खुम्चिएको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८४ करोड १७ लाख रुपैयाँबाट ३७ करोड रुपैयाँमा झरेको छ । यता बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १९.२८ रुपैयाँबाट सामान्य बढेर १९.५० रुपैयाँ पुगेको छ । खराब कर्जा (एनपीएल) ४.९६ प्रतिशतबाट बढेर ६.३८ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १६५.८० रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात १२.२५ गुणा रहेको छ।
चुक्ता पुँजी २० अर्ब ९५ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३७ करोड रुपैयाँ र रिजर्भ कोषमा १३ अर्ब ४१ करोड रुपैयाँ सञ्चित रहेको छ । यस बैंकले २ खर्ब १७ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ६७ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।


