
नेपाल र साउदी अरबबीच एक दशकपछि द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर



काठमाडौं । एक दशकभन्दा लामो समयदेखिको प्रयासपछि नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ।
साउदीकाे रियादमा साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गरिएको हाे।
सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन्।
बैठकका क्रममा मन्त्री भण्डारीले उक्त सम्झौताले नेपाल-साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
सम्झौताले नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित तथा लागत–प्रभावकारी बनाउने महत्वपूर्ण आधार तयार गर्ने उनकाे भनाइ छ।
साथै साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण र रोजगार सुरक्षामा सम्झाैताले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

