
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो



झापा । पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा गोलभेँडाको आयात ९३२ प्रतिशतले बढेको छ । गत साउनदेखि मङ्सिरसम्ममा रु छ करोड ८४ लाख ७४ हजार बराबरको गोलभेँडा भारतबाट आयात भएको हो ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा भारतबाट २६ लाख ७६ हजार ५२० किलो गोलभेँडा आयात भएको छ भने गोलभेँडा आयातबाट भन्सारले रु ८२ लाख ७३ हजार राजस्व संकलन गरेको जानकारी दिए ।
आव २०८१/८२ को सोही अवधिमा पूर्वीनाकाबाट रु ३७ लाख ३० हजार मूल्य बराबरको एक लाख ३८ हजार ६५० किलो गोलभेँडा आयात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए । गत आवको तुलनामा चालु आवमा भान्सामा प्रयोग हुने तरकारीजन्य गोलभेँडाको आयात ९३२ प्रतिशतले बढेको हुमागाईं बताउँछन् । नेपालमा आयात हुने अधिकांश गोलभेँडा भारतबाट आउने गरेको छ ।
चालु आवको पाँच महिनामा समग्र तरकारीको आयात वृद्धि भएको हुमागाई बताउँछन् । चालु अवमा सोही नाकाबाट रु एक अर्ब १८ करोड तीन लाख ५६ हजार मूल्य बराबरको तरकारी आयात भएको हो । गत आवको सोही अवधिमा रु एक अर्ब ११ करोड ३६ लाख २३ हजार मूल्य बराबरको तरकारी आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

