
एनसेलले बार एसोसिएसनलाई दियाे सूचना तथा सञ्चार प्रविधि उपकरण



काठमाडौं । एनसेलले जेनजी आन्दोलनका क्रममा क्षति भोगेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई सूचना तथा सञ्चार प्रविधि (आईसीटी) उपकरण सहयोग स्वरुप प्रदान गरेको छ ।
कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सोमबार एक कार्यक्रममाझ यी उपकरणहरू हस्तान्तरण गरेको हो ।
भदौ २३ र २४ गतेको जेनजी समूहको विरोध प्रदर्शनका कारण उत्पन्न भएको तोडफोड र आगजनीका कारण बार र सर्वोच्च अदालतको भौतिक संरचना, कार्यलयका जिन्सी सामग्रीदेखि अभिलेख कागजातहरूमा समेतमा अत्यधिक क्षति भएको थियो । यो सहयोगले कार्यालयका दैनिक कार्य सञ्चालनमा सहयोग पुग्ने भएको छ ।
एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठ, कानुन प्रबन्धक कैलाशप्रसाद न्यौपाने लगायतका प्रतिनिधिहरूले नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. एवं वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रलाई ल्यापटप दुई थान, डेक्स टप एक थान र प्रिन्टर दुई थान, र सर्वोच्च अदालत बार एसोशिएसनका कार्यवाहक अध्यक्ष अम्बरबहादुर राउतलाई एक थान ल्यापटप, दुई थान डेब्सटप, एक थान प्रिन्टर हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै मिश्रले एनसेलले प्रदान गरेको सामग्रीहरूले बारको कार्य सञ्चालनमा सहयोग पुग्ने र आगामी दिनमा समेत कम्पनी र बारकाबीच सहकार्य गर्न बार तत्पर रहेको बताउँदै कम्पनीलाई धन्यवाद दिए । त्यसैगरी राउतले सर्वोच्च अदालत बारले करिब ५० लाखको क्षति व्यहोर्नु परेको र केही माइन्युटबाहेक केही बाँकी नरहेको अवस्थामा एनसेलले गरको यस्तो सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

