
समाज कल्याण परिषद् अन्तर्गतका सम्पत्तिको अनुगमन, बक्यौता रकम उठाउन र अतिक्रमण हटाउन ठोस कदम चालिने



काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठज्युले समाज कल्याण परिषद् अन्तर्गत रहेका विभिन्न संरचना तथा सरकारी जग्गाको स्थलगत अनुगमन गरेकि छिन्। परिषद्को अध्य्क्षको रुपमा आफु मातहत रहेका निकाय , संरचना तथा सरकारी जग्गाहरुको मन्त्रीकाे याे पिहलाे अनुगमन हो।
अनुगमनका क्रममा काठमाडौंस्थित भृकुटी मण्डप, काठमाडौं फन पार्क, बाल सुधार केन्द्र तथा अपाङ्ग अस्पताल क्षेत्रको अवलोकन गरिएको थियो। अनुगमनका क्रममा समाज कल्याण परिषद् अन्तर्गतको सरकारी जग्गा लिज प्रक्रियासँग सम्बन्धित विभिन्न समस्या प्रत्यक्ष रूपमा देखिएको मन्त्री श्रेष्ठले जनाइन् । विशेषगरी विभिन्न व्यक्ति तथा संघसंस्थाहरूले सरकारी जग्गा उपयोग गरेबापत तिर्नुपर्ने लिज रकम लामो समयदेखि नतिरी बक्यौता बाकी रहेको र सम्झौताभन्दा बढी क्षेत्रफल ओगटिएको तथा अतिक्रमण गरिएका घटनाहरू रहेको पाइएको छ।
मन्त्रीका अनुसार यी समस्याहरू समाधान गर्न तत्काल प्रक्रिया अघि बढाइने छ। बक्यौता बाँकी रहेका सम्पूर्ण संघसंस्था तथा व्यवसायीहरूको सूची तयार भइसकेको र उनीहरूलाई म्याद तोकी भुक्तानीका लागि चिठी काट्ने वा छलफलका लागि बोलाइने तयारी भइरहेको छ। साथै, बक्यौता नतिरेका तथा सम्झौता उल्लङ्घन गरेका पक्षलाई कानुनी दायरामा ल्याइनेछ। अनुगमनपछि मन्त्रीले व्यापारिक तथा सामाजिक प्रयोजनका लागि गरिएका सम्पूर्ण सम्झौताहरूको अध्ययन गरी सुरुवातमा व्यापारिक सम्झौताहरूको पुनरावलोकन गरिने र क्रमशः अन्य कार्यालयहरूसँग समन्वय गर्दै काम अघि बढाइने स्पष्ट पारिन ।
यसका अतिरिक्त, कतिपय लिज सम्झौता नवीकरण नभएको र लिज रकम समयसापेक्ष रूपमा न्यायोचित नभएको पाइएकोले त्यसको लागि पनि अध्ययन गरी यथार्थपरक र न्यायोचित लिज दर निर्धारण गरिने माननीय मन्त्रीले जनाइन् । यसबाट समाज कल्याण परिषद्को आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ। समाज कल्याण परिषद्का नवनियुक्त सदस्य सचिव र उनको टोलीले पनि यस विषयलाई गम्भीरतापूर्वक लिएको र विगतजस्तो फाइलमै सीमित नभई व्यावहारिक समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रालयले स्वतस्फुर्त ढंगले देखिएका सम्पूर्ण समस्याहरु समाधान गर्दै सरकारी सम्पत्तिको संरक्षण र सदुपयोग सुनिश्चित गर्ने प्रतिबद्दता मन्त्रीले गरिन ।

