१२ अर्बको बीमा दाबी परेको आँकडा सार्वजनिक,कम्पनीहरुले तिरे ७८ करोड भुक्तानी
काठमाडौं । यसपालिको वर्षाको समयमा बाढीपहिरोले देशको विभिन्न स्थानमा ठूलो संख्यामा जनधनको क्षती पुर्यायो । सोही क्षतीका कारण मुख्य गरेर निर्जीवन बीमा कम्पनीले १२ अर्ब २६ करोड चार लाख रुपैयाँ बराबरको दाबी आफूहरुलाई परेको तथ्यांक सार्वजनिक गरेका छन् । सो तथ्याकंक अनुसार उनीहरुले ७८ करोड रुपैयाँ भने भुक्तानी गरि सकेका छन् ।
माटामोटी रुपमा हेर्ने हो भने ३ हजार ५ सय २९ वटा दाबी पर्दा कम्पनीहरुले ७८ करोड ९३ लाख रुपैयाँ बराबरको भुक्तानी दिएका हुन् ।
शिखर एक्लैले दियो २७ करोड भुक्तानी
दाबी भुक्तानीलाई नै मुख्य नारा बनाउँदै आएको शिखर इन्स्योरेन्स कम्पनीले सो दाबी बापत २७ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ। सो रकम १४ वटा निर्जीवन बीमा कम्पनीहरु मध्येकै हाइयस्ट फिजर हो ।
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १३ करोड ६७ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले २ करोड १ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सले ७३ करोड रुपैयाँ, हिमालयन एभरेष्टले ८ करोड ५३ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरेको देखिन्छ।
साथै, नेको इन्स्योरेन्सले ६ करोड ९० लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ५८ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले २२ लाख ६८ हजार रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ६ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ करोड २६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ६९ लाख ३० हजार दाबी भुक्तानी बापत तिरेका छन् ।
साथै, राष्ट्रिय बीमा कम्पनीमा २० करोड ६७ लाख रुपैयाँ बराबरको दाबी पर्दा सो कम्पनी भुक्तानीको प्रक्रियामै रहेको बुझिएको छ ।
लघु निर्जीवन बीमक
सोही क्षतीमा लघु बीमा कम्पनीहरु पनि समावेश भएको बीमा प्राधिकरणको तथ्यांक बताउँछ । लघु बीमा तर्फ स्टार माइक्रोले २६ हजार भुक्तानी, नेपाल माइक्रो इन्स्योरेन्सले ५ लाख, प्रोटेक्टिभ माइक्रोले १ लाख १८ हजार भुक्तानी गरेका छन् । लघु बीमातर्फ कूल पाँच लाख २७ हजार भुक्तानी भएको देखिन्छ भने यता १५ लाख २० हजार रुपैयाँ दाबी परेको ट्रस्ट माइक्रो पनि भुक्तानीको प्रक्रियामा रहेको बुझिएको छ ।
सबैभन्दा पहिला सोही बाढीको दाबी भुक्तानी रकम दिने बेलामा शिखर इन्स्योरेन्स एक्लै रहेको थियो । अहिले बाँकी कम्पनीले पनि यथाशिघ्र भुक्तानी दिइरहेको अवस्था छ। बीमाको भुक्तानी कम्पनीसँग गरिएको सम्झौता, क्षतीको अवस्था र बीमा कम्पनीमा सर्भेयरहरुले तयार पर्ने सर्भे रिपोर्टमा सिधै निर्भर हुने भएकाले पनि प्रत्येक बीमाको क्षती विवरण अनुसार नै भुक्तानीलाई लाग्ने समय हेरफेर हुने गरेको पाइन्छ ।