
केपी ओलीले बादललाई दिए ‘दोस्रो वरियता’



काठमाडौँ । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो वरियतामा रामबहादुर थापा ‘बादल’लाई राखेका छन् । मतका आधारमा पृथ्वी सुब्बा गुरुङले सबैभन्दा धेरै भोट पाएको भए पनि बादल नै पहिलो बरियताका उपाध्यक्ष बनेका हुन् ।
ओलीले आइतबार राखेको सचिवालय बैठकमा उनको दाहिने तिर बादललाई राखेका छन् भने बायाँतिर महासचिव शंकर पोखरेललाई राखेका छन् ।
त्यसपछि दोस्रो वरियताका उपाध्यक्षमा विष्णुप्रसाद पौडेल देखिएका छन् ।
यी दुई नेतामा ‘को बरिष्ठ हुने’ भन्ने चर्चा चुलिएको थियो । सर्वाधिक मत पाएर उपाध्यक्ष बनेका पृथ्वी सुब्बाले समेत पौडेललाई ‘नेता’ मानेको भनेर कतिपयले उनलाई नै बरिष्ठ भूमिका दिने अनुमान गरेका थिए ।
तर तत्कालिन माओवादी केन्द्रसँग मिलेर एमालेले पार्टी एकता गर्दा नै बादल उपाध्यक्ष र पौडेल महासचिव थिए । १० औँ महाधिवेशनबाट तग भएको नेतृत्वमा पनि पौडेलभन्दा बादल नै शीर्ष स्थानमा रहेको देखाएर ओलीले उनैलाई पार्टीमै दोस्रो वरियतामा राखेका हुन् ।
कतिपयको अनुमान चाहीँ यी सबै घटना नभएको भए पनि ओलीको प्रयास बादललाई नै शीर्ष उपाध्यक्ष बनाउने हुन्थ्यो भन्ने देखिन्छ । यसका लागि एमाले सम्बद्ध स्रोतले दुईटा तर्क अघि सारेका छन् ।
बादललाई उपाध्यक्षहरूमध्ये सबैभन्दा माथिको बरियतामा राख्दा माओवादीबाट एमालेमा प्रवेश गरेका नेता र कार्यकर्ताबीच आत्मसम्मानको भाव जागृत हुने ओलीको बुझाइ छ । त्यस्तै, बादलसँग एमालेको आन्तरिक संगठन छैन । पौडेल वा गुरुङलाई दलको दोस्रो बरियतामा पुर्याउने हो भने उनीहरुले समानान्तर गुट चलाउन सक्ने जोखिम हुन्छ भनेर ओली सजग देखिन्थे ।
यी कारणले पनि ओलीको रोजाईमा बादल परेका हुन् । त्यसमाथि उनी एमालेमा छिरेदेखि नै बाँकी नेताहरूभन्दा माथिल्लो ओहदामै रहेकाले ओलीलाई यस्तो ‘रोलक्रम’ मिलाउन अवसर प्राप्त भएको छ ।

