बक्यौता नतिरेका उद्योगका खाता र सेयर कारोबार रोक्का हुने
काठमाडौं । विद्युत प्राधिकरणले विद्युत महसुल बक्यौता रहेका उद्योगीहरुको बैंक खाता रोक्का गर्न राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयलाई पत्र पठाएको छ। सो पत्रमा खाताबाट रकम झिक्न नपाइने तथा सेयर निष्कासन गर्न नपाइने व्यहोरा उल्लेख गरिएको हो।
त्यस्तै, डेडिकेटेड तथा ट्रंक फिडरमा लाइन नकाट्न निर्देशन पाएपछि नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने उद्योगहरूको बैंक खाता, सेयर रोक्का गर्न पत्राचार गरिएको छ भने नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरण बैंक खाता रोक्का, सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा पुग्नु परेको जनाइएको छ ।
साथै, प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ विद्युत् खरिद सम्झौताबमोजिम भुक्तानी हुने रकमबाट असुल गर्न पियोर इनर्जीलाई पत्राचार गरेको हो भने प्राधिकरणले ३४ वटा उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बाँकी रहेका उद्योगहरूको विवरणसहित पत्राचार गरिसकेको छ ।
यता, प्राधिकरण सो अवधिमा ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ बाँकी रहेको र ३४ बाहेकका अन्य उद्योग भने किस्ताबन्दीमा आइसकेको पत्रमार्फत जानकारी दिएको छ ।