
होटल बन्द भए पनि हायात रिजेन्सीले एक वर्षसम्मै कर्मचारीलाई न्यूनतम तलब दिने



काठमाडाैं । गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनीपछि बन्द भएको हायात रिजेन्सी होटलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने भएको छ ।
बौद्धस्थित हायात रिजेन्सी र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर श्रमिकको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको हो ।
होटल पुनर्निर्माण गर्न कम्तीमा एक वर्ष लाग्ने भन्दै होटल व्यवस्थापनले कर्मचारीका प्रतिनिधिसँग छलफल गरी यस्ताे सहमति गरेको हो ।
सहमतिअनुसार होटलले कर्मचारीलाई एक वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउनेछ । साथै सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्नेछ भने मर्मत–सम्भार पूरा भएपछि सहमतिमा बस्ने कर्मचारीलाई पुनः रोजगारीमा फर्काइने होटलले जनाएको छ ।
सहमतिमा अधिकांश कर्मचारी सकारात्मक रहेको व्यवस्थापकको दाबी छ । सहमतिमा नआउने कर्मचारीको हकमा भने श्रमिक कटौतीको प्रक्रिया अपनाइने होटलले बताएको छ ।
आन्दोलनका क्रममा भएको तोडफोडका कारण ठूलो आर्थिक तथा भौतिक क्षति पुगेकोले पूर्णरूपमा मर्मत सम्भार नगरी होटल सञ्चालन हुने अवस्था नरहेकाे होटल व्यवस्थापनले जनाएकाे छ ।

