
ब्रिज सिमेन्ट : दैनिक १२ सय टन उत्पादन, वार्षिक २ अर्बको व्यापार



काठमाडौं । निर्माण क्षेत्र सुस्त बनिरहेको बेला ब्रिज सिमेन्टको व्यापार भने दोहोरो अंकमा वृद्धि भएको छ । कम्पनीले एकै वर्ष झन्डै २ अर्बको कारोबार गरेको देखिन्छ ।
इक्रा नेपालबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । कम्पनीले सन् २०२५ मा १ अर्ब ९८ करोड ५ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो गत आव सन् २०२४ को तुलनामा भने १५.०७ प्रतिशत धेरै हो । गत वर्ष पनि कम्पनीले १ अर्ब ७२ करोड ५० लाख बढीको सिमेन्ट बिक्री गरेको थियो ।
कम्पनीले अघिल्लो वर्ष सन् २०२३ मा पनि २ अर्ब १२ करोड २० लाख रुपैयाँ बढीको व्यापार गरेको थियो । यस्तै, सन् २०२२ पनि २ अर्ब ४९ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको देखिन्छ ।
सन् २००२ मा स्थापना भई दैनिक १२ सय टन ग्राइन्डिङ क्षमता प्राप्त गरेको ब्रिज सिमेन्ट पाँच जना स्वामित्वधारीको लगानीमा सञ्चालनमा छ । त्यसमा केडिया अर्गनाइजेशनको ५० प्रतिशत र बाँकी शान्त सिमेन्ट (भारतीय कम्पनी) को स्वामित्व छ ।
यसको कारखाना नेपालका रुपन्देही जिल्लाको गोनाहा क्षेत्रमा अवस्थित छ । कम्पनीले हाल बजारमा २ वटा ओपीसी, ५ वटा पीपीसी र १ वटा पीएसजी ब्रान्डमार्फत सिमेन्ट बिक्री–वितरण गर्दै आएको छ ।
ग्राइन्डिङ सिमेन्टसँगै कम्पनीले क्लिङ्कर उत्पादन पनि गर्दै आएको छ । गत आवमा आवश्यकतामध्ये करिब ५० प्रतिशत क्लिङ्कर बाहिरबाट खरिद गरी आपूर्ति गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले ८९ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । जसमध्ये २८ करोड ५४ लाख दीर्घकालीन र ६० करोड ९९ लाख अल्पकालीन कर्जा हो ।

