
नबिल बैंकको १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । नबिल बैंकले आफ्नो १ लाख २५ हजार कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको छ । एक सूचना जारी गर्दै बैंकले तीन जना संस्थापक सेयरधनीहरूले सेयर बिक्री गर्न चाहेकोले उनीहरूको नामको शेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुसँग प्रस्ताव आह्वान गरेको हो ।
बैंकले जारी गरेको सूचनाअनुसार जितबहादुर श्रेष्ठको नाममा रहेको ५० हजार, जश श्रेष्ठको नाममा रहेको २५ हजार र जिज्ञाशा अर्यालको नाममा रहेको ५० हजार कित्ता सेयर बिक्री गर्न लागिएको हो ।
जसमध्ये जितबहादुर र जिज्ञासाको मूल्य नतोकिएको भए पनि जश श्रेष्ठले भने आफ्नो नाममा रहेको शेयर ३०१ रुपैयाँ प्रतिकित्तामा बेच्न इच्छुक रहेको बैंकले जनाएको छ ।

