
निर्जीवन बीमा कम्पनीले आर्जन गरे १२ अर्ब माथिको बीमाशुल्क

काठमाडौं । यसपालिको असोज मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएका छन्। त्यस्तो तथ्यांक नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको छ भने ३ महिनामा नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले ६ लाख ८८ हजार ९८२ वटा बीमा पोलिसी बिक्री गर्दै उक्त बीमाशुल्क आर्जन गरेको देखिन्छ।
यता, सोही असोज मसान्तसम्म आउँदा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने निर्जीवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ उठाएको छ । शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ संकलन गर्दै दोस्रो स्थानमा रह्यो। त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब २ करोड ५६ लाख रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ९९ करोड ६ लाख रुपैयाँ उठाएका छन्। नेको इन्स्योरेन्सले ९२ करोड ८३ लाख, यूनाइटेड अजोडले ८८ करोड २९ लाख र ओरिएन्टल इन्स्योरेन्सले ७८ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख रुपैयाँ प्रिमियम उठाएको छ ।
सोही बेलामा सानिमा जिआइसीले ६८ करोड १८ लाख, प्रभु इन्स्योरेन्सले ५० करोड ५६ लाख, नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख र राष्ट्रिय बीमा कम्पनीले ४१ करोड ४१ लाख रुपैयाँ संकलन गरेको तथ्यांकमा देखिएको हो।


