
दोलखाको यलुङ रि क्षेत्रको हिमपहिरोमा ७ जनाको मृत्यु, काठमाडौं ल्याइयो ८ घाइते

काठमाडौं । दोलखाको यलुङ रि क्षेत्रको हिमपहिरोमा परेर मृत्यु हुनेको संख्या ७ पुगेको छ। गौरीशंकर गाउँपालिका–९ स्थित डोल्मा खाङ हिमाल आरोहण गर्न गएकामध्ये ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
सो कार्यालयलका अनुसार पहिरोमा परी घाइते भएका ८ जनालाई भने उपचारको लागि काठमाडौं लगिएको छ। ‘उद्धारमा खटिएकाहरूले दिएको जानकारी अनुसार अहिलेसम्म ५ जना विदेशी नागरिक र २ जना नेपाली नागरिकको मृत्यु भएको छ,’ उनले भने, ‘८ जना घाइतेलाई उपचारका लागि काठमाडौंमा पठाइसक्यौं।’
विदेशी नागरिक कुन–कुन देशका हुन् भन्ने यकिन विवरण आइसकेको छैन। मृतकको संख्या ७ पुगे पनि घटनास्थलबाट निकाल्न सकिसकेको छैन। सोमबार साँझ उद्धारका लागि ३ वटै सुरक्षा निकायको संयुक्त टोली घटनास्थलतर्फ खटिएको छ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) लामाबगर, नेपाली सेना र नेपाल प्रहरीको गरी ५० जनाको संयुक्त सुरक्षा फौज घटनास्थलतर्फ परिचालन भएको हो।


