
अर्घको दाउरा लिएर छठ घाट पुगे पूर्वमन्त्री यादव

वीरगञ्ज पर्सा कात्तिक जनता समाजवादी पार्टीका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादव आज छठ पर्वको विशेष अवसरमा आफ्नो पैतृक गाउँ वीरगञ्ज महानगरपालिका–२२, मनियारीस्थित छठ घाटमा दउरा लिएर सहभागी हुनु भएको छ ।
पूर्वमन्त्री यादवले परिवारका सदस्यहरूसँग मिलेर साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठी माताको पूजा गर्नु भएको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का निर्वतमान प्रतिनिधिसभा सदस्य समेत रहनु भएका पूर्वमन्त्री यादवले सामाजिक सञ्जालमा आफ्नो दउरा बोकेर छठ घाटतर्फ गइरहेको भिडियो र तस्बिरहरू पोष्ट गर्नु हुँदै सम्पूर्ण देशवासीलाई छठको पावन अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
सामाजिक सञ्जालमा लेख्नु हुँदै पूर्वमन्त्री यादवले भन्नु भएको छ, “ लोक आस्था र प्रकृति पूजनको प्रतीक महान् पर्व छठको पावन अवसरमा आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठी माताको पूजा गर्न आफ्नो पैतृक गाउँ वीरगञ्ज महानगरपालिका–२२, मनियारीस्थित छठ घाटमा परिवारसँगै “दउरा” लिएर पुग्ने सौभाग्य प्राप्त भयो ।”
उहाँले “अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दा सम्पूर्ण देशको समृद्धि, सुख–शान्ति, र हर्षोल्लासको कामना गर्दछु।यो महान् पर्वले सम्पूर्ण नेपालीलाई आफ्नो परम्परा र संस्कृति प्रति गर्व गर्न प्रेरित गरोस् र हामी सबैको जीवनमा छठी माताको अपार कृपा रहिरहोस् । जय छठी माई १ ।”
छठ पर्वले सबै नेपालीको जीवनमा खुसी र समृद्धि ल्याओस् भनी कामना गर्दै मन्त्री यादवले भने, “छठ केवल एउटा पर्व होइनस यो हाम्रो समाजको आध्यात्मिक, सांस्कृतिक, र सामुदायिक शक्तिको प्रतीक हो । यसले हामीलाई हाम्रा परम्परा र संस्कारप्रति गर्व गर्न अभिप्रेरित गर्छ । हामीले यस पर्वलाई भावी पुस्तामा हस्तान्तरण गरेर हाम्रो परम्परा र रीतिरिवाजको संरक्षणमा ध्यान दिनुपर्छ ।”
उपमहासचिव यादवले छठ पर्वले समाजमा भाइचारा, एकता र प्रेमको भावना सृजना गर्ने बताउँदै नयाँ पुस्तालाई छठको महत्त्व र यसका सांस्कृतिक पक्षहरू बुझाउनुपर्ने आवश्यकता औँल्याउँदै भने, “हामी सबैको जिम्मेवारी हो कि छठ पर्वजस्ता सांस्कृतिक परम्परालाई भावी पुस्ताले पनि गहिराइपूर्वक बुझुन् र यसलाई हृदयमा समेटुन् ।”
मधेस प्रदेशको सर्वाधिक श्रद्धाको पर्व छठ यहाँका प्रत्येक घरमा उल्लासपूर्वक मनाइन्छ । यो पर्व मधेसको सांस्कृतिक आस्थाको प्रतीक हो, जसलाई ठूला होस् वा साना, सबैले समान श्रद्धा र भक्ति भावले मनाउने परम्परा रहेको छ ।


