


सयपत्री फूल बिक्दा खुसी बन्दै तनहुँ म्याग्देका किसान




दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वाराबाट एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री भएको छ । यहाँका चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सोमबार एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री गरेका हुन् । पोखराको व्यापारीलाई ३ सय रुपैयाँका दरले फूल बिक्री गरिएको समूहका सचिव महेन्द्रराज रानाले जानकारी दिए । उनले भने, ‘दुई ठाउँमा गरी छ रोपनी क्षेत्रफलमा पहिलो वर्ष सयपत्री फूल लगाएका थियौँ । एक ठाउँबाट एक सय ६८ र अर्को ठाउँबाट तीन सय ६८ किलो फूल बिक्री भएको छ ।’
पहिलो वर्ष फूलखेती गरेका किसान बजार पाएपछि खुसी छन् । अझै पनि फूलको माग आइरहेको तर आफूहरूसँग फूल नरहेको उनले बताए । उनले भने, ‘पहिलो वर्षमै उत्पादन भएका सबै फूल बिक्री हुँदा खुसी छौँ । बजार पाउँदैन कि भन्ने चिन्ता हट्यो ।’फुटकर रूपमा फूलको माग आए पनि फूल दिन सक्ने अवस्था नरहेको उनले बताए ।
समूहका अध्यक्ष जितमाया रानाले बजार नपाएर श्रम खेर जाने हो कि भन्ने चिन्ताका बीच फूल लगाउन सुरु गरे पनि बजार पाएपछि आफूहरूमा हौंसला प्राप्त भएको बताए । पहिलो वषमै बजारको सुनिश्चितता भएपछि आगामी वर्ष झनै क्षेत्रफल विस्तार गर्ने सोच बनाएको उनको भनाइ छ ।
फूल फुलेपछि कहाँ लैजाने भन्ने चिन्ता भए पनि बजारको समस्या नभएपछि अहिले मन पनि खुसीले फुलेको उनले बताए । उनका अनुसार छ रोपनी जग्गा भाडामा लिएर छ हजारभन्दा बढी बेर्ना रोपिएको थियो । यसअघि काक्रा, घिरौला, बोडी, मास, करेला, खुर्सानीखेती गरिरहेका किसानले यस वर्ष भने सयपत्री फूलखेती गरेको नभनाइ छ ।