


वासिङ्टनमा अर्थमन्त्री खनालको सक्रियता: द्विपक्षीय व्यापार र करका बारेमा छलफल




अमेरिका । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मंगलबार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाएका छन् ।
मंगलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गरेका थिए । उक्त भेटको अवसरमा द्विपक्षीय व्यापार र करका नीतिहरूका बारेमा छलफल भएको थियो । उक्त छलफल उपयोगी भएको यहाँस्थित राजदूतावासले जनाएको छ । उक्त भेटका अवसरमा अमेरिका तथा नेपालका अधिकारीहरूको सहभागिता थियो ।
त्यसैगरी, मंगलबार नै मन्त्री खनालले विकासका लागि साउदी फण्डका अध्यक्ष अब्दुल रहमान अल मर्सदसँग सहकार्य गर्नेसम्बन्धी विषयमा छलफल गरेका थिए । यस अगाडि उनले नेपालको विकासमा साझेदारी गर्दै आएका विभिन्न अन्तरराष्ट्रिय निकायका प्रतिनिधिहरूसँग समेत छलफल गरेका थिए ।
भेटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा अन्य कर्मचारीको समेत सहभागिता थियो ।