


अर्थमन्त्री खनालद्वारा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता सम्पन्न




काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आज विश्व बैंक समुहका प्रवन्ध निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोषको उप प्रवन्ध निर्देशक बो लीसँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन् ।
विश्व बैंकका प्रवन्ध निर्देशक बेजर्डेसँगको भेटमा अर्थमन्त्री खनालले नेपालमा भएको जेन जी समुहको प्रदर्शन पछि बनेको सरकारको मुख्य काम तोकिएको समयमा निर्वाचन गराउनुका अतिरिक्त सुशासन र उत्तरदायित्व प्रवद्र्धन गर्नु भएको बताए ।
साथै उनले वर्तमान सरकार व्यवसायिक वातावरण सुधारका लागि गर्नुपर्ने संस्थागत र प्रक्रियागत सुधारका कार्यलाई तिव्रता दिन र कानुनी सुधारका लागि पूर्वतयारी कार्य गर्न कटिबद्ध रहेको बताए । विश्व बैंक समुहले नेपालको विकास प्रयासमा गरिरहेको सहयोग प्रति धन्यावद व्यक्त गर्दै आगामी दिनमा बैंकसँगको सहकार्यलाई थप सुदृढ बनाइने उल्लेख गरेका छन् । सो अवसरमा विश्व बैंकका प्रवन्ध निर्देशक बेजर्डे अन्तरिम सरकारसँग काम गर्न विश्व बैंक इच्छुक भएको उल्लेख गर्दै आर्थिक र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका विषयमा अर्थमन्त्रीसँग छलफल गरेका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको उप–प्रवन्ध निर्देशक बो लीसँगको भेटमा अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोषको नेपालको आर्थिक सुधारमा गरेको सहयोग र सहकार्य प्रति धन्यवाद दिए । मन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोष उप–प्रवन्ध निर्देशक बो लीले विस्तारित कर्जा सुविधाको छैठौं समीक्षा सफलतपूर्वक सम्पन्न भएकोमा बधाई दिदै आगामी आर्थिक सुधारका लागि कोषको निरन्तर सहयोग रहने बताए । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो।