सेयर बजारमा नेप्सेसँगै कारोबार रकममा पनि गिरावट, परिसूचक २७०२ विन्दुमा
काठमाडौं । आज सेयर बजारका मुख्य सूचकहरु ओरालो लागेका छन् । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजार राताम्य भएर बन्द भएको हो भने कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ५१ दशमलव ११ अंकले घटेर २७०२ दशमलव ६५ विन्दुमा पुगेको थियो । यो अघिल्लो दिनको भन्दा १.८५ प्रतिशतले कमी रहेको नेप्सेमा देखिन्छ ।
साथै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ७४ अंकले घटेर ४७८ दशमलव १६ विन्दुमा पुग्दा सेयर बजारमा १३ उपसूचकमध्ये १३ वटैको सेयर मूल्य घटेको छ ।
जम्मा २० कम्पनीको सेयर मूल्य मात्रै बढेको बेलामा २२४ कम्पनीको सेयर मूल्य घटेको हो । त्यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको र सो रकम एकाएक खुम्चिन पुगेको छ ।
हिजो कारोबार रकम ११ अर्ब भन्दा बढीको भए पनि आज भने सेयर बजारमा जम्मा करिब साढे १० अर्ब बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३१० कम्पनीका २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर १ लाख ५ हजार ८२७ पटक खरिद बिक्री हुँदा १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५२१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेको सूचकमा देखिन्छ ।
कारोबारको अन्तिम समयसम्म आईपुग्दा आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द हुन पुगेको थियो ।