


नाफिजका पत्रकार ढुङ्गानालाई ज्यान मार्ने धम्की




नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का निवर्तमान महासचिव तथा सीधाकुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगानामाथि समाचार लेखेकै भरमा अपरिचित व्यक्तिहरुमार्फत ज्यान मार्ने र कार्यालयमा आगो लगाउन धम्की दिएकोप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
जेन्जी आन्दोलनका दौरान आगलागी र तोडफोड गरिएको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठ स्थित निवासमा जलेको अवस्थामा भेटिएका नेपाली रुपैयाँ तथा अमेरिकी डलरसँग सम्बन्धित दुईवटा समाचार सिधा कुराले प्रकाशित गरेको थियो ।
तीनै मध्यको दोस्रो भागको समाचारसँग सम्बन्धित रहेर उक्त व्यक्ति (सानो भाइ नामक फेसबुक अकाउन्ट)ले धम्की दिएको प्रति संघको ध्यानाकर्षण भएको हो । प्रकाशित समाचारप्रति चित्त नबुझेमा खण्डन तथा उजुरी गर्ने विधि विपरित पत्रकारमाथि जाई लाग्नु अत्यन्तै दुःखद र खेदजनक कार्य हो ।
नाफिज यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्नुका साथै स्वतन्त्र प्रेसको अधिकार सुरक्षित गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।