पृथ्वीराजमार्गको दोस्रो चरणको कालोपत्र सुरु
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वीराजमार्गको पूर्वी खण्डमा दोेस्रो चरणको कालोपत्र सुरु गरिएकोे छ । आयोजनाका अनुसार चार लेनको २९ किलोमिटर र दुई लेनको पाँच किमी गरी ६३ किमी सडक कालोपत्र गरी दोस्रो चरणको कालोपत्र गर्न थालिएको हो ।
पहिलोे चरणमा ६ सेन्टिमिटर मोेटाइको सडक कालोपत्र गरिएको थियो । दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टिमिटरको सडक कालोपत्र हुने आयोेजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । जिल्लाको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकबाट ‘डबल लेयर’को कालोपत्र कार्य अघि बढाउनाका साथै कालोपत्र नगरिएका स्थानमा पनि काम सुरु गरिएको उनले बताए । ‘दुईतर्फी सडकमध्ये एकतर्फी कालोपत्र भई बाँकी रहेका अर्को सडक साइडमा पनि कालोपत्रको कार्य अघि बढाइएको छ,’ उनले भने, ‘यसअघि चाडपर्व र वर्षाका कारण सोचे अनुरुपको काम गर्न नसकिएकोे हुँदा अब निर्माण कार्यले गति लिनेगरी काम हुन्छ ।’
पूर्वी सडकमा ४१ दशमलव ४५ किलोमिटर दूरी रहेको छ । यस सडकमा ठेकेदार कम्पनीले हालसम्म ६३ किलोमिटर एकतर्फी सडक कालोपत्र गरेको छ । पृथ्वी राजमार्गको पूर्वी खण्ड आँबुखैरेनी–जामुने विसं २०७७ माघ १७ गते चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले रु ६ अर्ब २१ करोड ३१ लाखमा ठेक्का सम्झौता गरेको थियो । विसं २०८१ वैशाखसम्म काम सम्पन्न गर्नेगरी सम्झौता गरे पनि हालसम्म ६८ प्रतिशत भौतिक प्रगति भएको छ । कोरोनाको असर देखाएर २०८१ फागुन १ गतेसम्मलाई म्याद थप भएको छ । एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा चार लेनमा सडक विस्तार भइरहेको हो ।