

सुस्त पुँजी बजारः खुम्चिदै परिसूचक




काठमाडौँ । नेप्से परिसूचक आज पनि सामान्य गिरावटसहित राताम्य बनेको छ । पछिल्ला दिनहरूमा लगातार सुस्त देखिएको पूँजी बजारले लगानीकर्ताको मनोबल थप कमजोर बनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूले लाभांश वितरणको सिजन चलाइरहेका भए पनि बजारले त्यसअनुसार गति लिन सकेको छैन ।
विश्लेषकहरूको भनाइमा बजारमा संरचनागत कमजोरी, नियामकीय अनियमितता र सानो समूहको चलखेल नै स्थायीरूपमा दबाब बढाउने कारण बनेका छन् । यस्ता गतिविधिले दीर्घकालीन लगानी गर्ने नागरिकलाई थप जोखिममा धकेलेको छ । धेरै लगानीकर्ताले आफ्नो दीर्घकालीन योजना पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था आएको भन्दै चिन्ता प्रकट गरेका छन् ।
यता, दशैं नजिकिँदै गर्दा आवश्यक खर्च र नगद प्रवाहको कारण पनि बजारमा दबाब बढेको देखिएको छ । धेरै लगानीकर्ताले तत्काल नाफा सुरक्षित गर्न शेयर बिक्री गर्ने रणनीति अख्तियार गरेपछि बजारमा अस्थिरता थपिएको हो । यसले आगामी दिनमा समेत बजारको उतार–चढावप्रति लगानीकर्ताहरू सजग र सतर्क बन्नुपर्ने आवश्यकता देखाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५५ अकंले घटेर २७१९.७७ बिन्दुमा कायम भएको छ । आज ३१७ कम्पनीको १ करोड २७ लाख १ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँको कारोबार भएको हो ।
आज ८ उपसूचक राताम्य भएका छन् । यसदिन वाणिज्य बैंक समूहको ०.१५ प्रतिशत, विकास बैंक समूहको ०.३० प्रतिशत, फाइनान्स समूहको ०.३२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८४ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बिहिबार ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ ।