
अनुदानको २०० बोरा मल लुकाउने व्यापारी पक्राउ

काठमाडौं । २०० बोरा अनुदानको मल लुकाएर गोदाममा भण्डारण गर्ने व्यापारी पक्राउ परेका छन् । सरकारले किसानलाई वितरण गर्न पठाएको मल लुकाउने उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी पक्राउ परेका हुन् ।
उनलाई पक्राउ गरी मंगलबार जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरको बजार अनुगमन टोलीले भदौ १२ गते गरेको अनुगमनका क्रममा चौधरीको गोदाममा अनुदानको मल फेला परेको थियो । त्यसपछि मल शिलबन्दी गरी अनुसन्धान अघि बढाइएको हो ।
सर्वदलीय छलफलपछि उक्त मल किसानलाई वितरण गर्ने निर्णय भएको छ । निर्णयअनुसार वडा नं। १ देखि ७ सम्मका किसानलाई १७५ बोरा मल वितरण गरिने भएको छ ।


