

स्वस्तिक लघुवित्तको आईपीओ भोलि बाँडफाँट हुँदै




काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार बिहिबार बिहान १० बजे आईपीओ बाँडफाँटको तयारी गरेको हो ।
आईपीओमा १९ हजार ५१९ जनाले १०/१० कित्ता दरले आईपीओ हात पार्नेछन् । सोहि मध्यका ५ हजारले थप १/१ कित्ता गरी ११ कित्ता शेयर पाउनेछन् ।
कम्पनीले पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा गएका नेपालीहरूलाई आईपीओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट असार ५ गते अनुमति पाएको थियो। अनुमति पाए लगत्तै कम्पनीले असार २७ गतेदेखि साउन ९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कुल २३ हजार १०० कित्ता आईपीओ निष्कासन गरेको थियो। निष्कासन अवधिभर रितपूर्वक आवेदन दिएका २ हजार ३१० जनालाई गत साउन १६ गते बिहानै १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिसकेको छ।
यता वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बेचेर बाँकी रहेको २ लाख ७ हजार ९०० कित्तामध्ये १ हजार १५५ कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको १ लाख ९५ हजार १९५ कित्ता सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो ।
कम्पनीको आईपीओलाई ईक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर बी एटदरेट’ रेटिंग दिएको छ जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।