

कोशी प्रदेशद्वारा क्यान्सर, मिर्गौलालगायतका बिरामीलाई ८ करोड ८५ लाख सहायता वितरण




झापा । कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई ८ करोड ८५ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको जनाएको छ ।
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनिन राईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सहायताका लागि एक हजार ७ सय १५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् ।
क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन एनिमियालगायतका बिरामीले अघिल्लो आव २०८०/८१ मा दिएका निवेदनका आधारमा ५० हजार र १ लाख रुपैयाँका दरले आर्थिक सहायता वितरण गरिएको उनले जानकारी दिए ।
उनले क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरीका एक हजार ६ सय ६० बिरामीलाई ५० हजार रूपैयाँका दरले र मिर्गौला ट्रान्सप्लान्टका ५५ बिरामीलाई एक लाख रुपैयाँका दरले सहायता रकम वितरण गरिएको बताए । चालु आव २०८२/८३ मा सरकारले आर्थिक सहायताका लागि बजेट विनियोजन नगरेको उनले बताए ।
‘यो आवमा यस्तो सेवा मन्त्रालयले राखेको छैन’, सूचना अधिकारी राईले भने, ‘आर्थिक रुपमा भार धेरै भयो । कडा रोग लागेका बिरामीलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने र बिमा गरिसकेकाहरुको नवीकरण गरिदिने कार्यविधि बनेको छ । जिल्लाहरुबाट तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । चाँडै सूचना जारी गरेर काम थाल्नेछौँ ।’
विगतको कार्यविधिमा मिर्गौला प्रत्यारोपण गर्नेलाई दुई लाख र अन्य कडा खालका रोग लागेकालाई एक लाख रुपैयाँका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो। तर माग धेरै र बजेट अभाव भएपछि सरकारले गत वर्ष आधा मात्रै बाँड्ने निर्णय गरेको थियो ।
उनले विसं २०८० चैतबाट मन्त्रालयले निवेदन लिने काम बन्द गरिसकेको जानकारी दिए । प्रदेशमा कडा रोग लागेका बिरामीलाई पहिलोपल्ट आव २०७९/८० बाट आर्थिक सहायता वितरण सुरु गरिएको थियो ।