

नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा ५० प्रतिशत नाघ्यो




काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा करिब ५० प्रतिशतमाथि पुगेको छ । गत आर्थिक वर्षमा यस बैंकको खराब कर्जा ५०.९७ प्रतिशत पुगेको हो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस बैंकको खराब कर्जा ४७ प्रतिशत रहेको थियो । गत आर्थिक वर्षमा यस बैंक २ करोड ५१ लाख ६९ हजार २०३ रुपैयाँ नोक्सानीमा रहेको छ । बैंकको नोक्सानी पनि अघिल्लो आवको तुलनामा बढेको छ । अघिल्लो आवमा यस बैंकको नोक्सानी १ करोड ७८ लाख १८३ रुपैयाँमात्र थियो । यस बैंकको वित्तीय अवस्था वर्षेनी खस्किँदै गएको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाउँछ ।
बैंकको खराब कर्जाको रेसियो उच्च हुँदा बैंक कमाएको अधिकांश रकम कर्जाको प्रोभिजनको लागि छुट्टाएको छ । जसको कारण गत आर्थिक वर्षमा यस बैंकको नाफा पनि नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षमा यस बैंकले खराब कर्जा व्यवस्थापन गर्नको लागि ‘टोटल लोन लस प्रोभिजन टु टोटल एनपिएल’ मा ७९.५५ प्रतिशत छुट्टयाएको छ । अघिल्लो आर्थिक वर्षमा यस बैंकले ७६.६८ प्रतिशत लोनको प्रोभिजन गरेको थियो ।
यसैगरी, यस बैंकले ‘टोटल लोन लस प्रोभिजन टु टोटल लोन’ को लागि ३५.३२ प्रतिशत छुट्टाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा यस्तो प्रोभिजन ४०.५५ प्रतिशत छुट्ट्याएको थियो । यस अवधिसम्म आउँदा बैंकले ४४ करोड ९६ लाख ७५ हजार ४४४ रुपैयाँ निक्षेप संकलन गरेर १९ करोड ९६ लाख ८९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म १६.२२ प्रतिशत बेस रेटमा कर्जा लगानी गरेको तथ्यांक सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षमा पनि यस बैंकको १६.२४ प्रतिशत रहेको थियो । बैंकले निक्षेप र कर्जा बिचको अनुपात (इन्ट्रेस्ट स्प्रेड) ४.५० प्रतिशत कायम गरेको छ । गत आर्थिक वर्षसम्म आउँदा यस बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५९ पैसा ऋणात्मक रहेको छ । यसैगरी, प्रतिसेयर नेटवर्थ २७ रुपैयाँ १५ पैसा रहेको बैंकले जनाएको छ ।
यस अवधिसम्म आउँदा यस बैंकको खुद ब्याज आम्दानी पनि नोक्सानीमा रहेको छ। यस अवधिमा यस बैंकको खुद ब्याज आम्दानी २ लाख ९९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । यस अवधिसम्म आउँदा यस बैंकको सञ्चालन नाफा पनि नोक्सानीमा रहेको छ । यस अवधिमा यस बैंकको सञ्चालन नाफा ३० लाख ८१ हजार रुपैयाँले नोक्सानीमा रहेको छ।
बैंकहरुले दिएको ऋण लगानीमा कमजोर मूल्याङ्कन कमजोर भएको कारण खराब कर्जाको वृद्धि उच्च भइरहेको सम्बन्ध श्रोतहरू बताउँछन् । विकास बैंकहरूले ऋण दिने बेला परियोजनाको सम्भाव्यता, ग्राहकको आम्दानी स्रोत, धितोको गुणस्तर जस्ता कुरा पर्याप्त जाँच नगरी ऋण प्रवाह गरेका कारण खराब कर्जा बढ्दो अवस्थामा रहेको देखिन्छ ।
यसैगरी, पछिल्ला केही वर्ष यता नेपालमा निर्माण, उद्योग, व्यापार र रियल स्टेट क्षेत्रमा आएको सुस्ताको कारण ऋण लिएका ग्राहकले किस्ता तिर्न नसक्ने अवस्था आएको छ। विकास बैंकहरूले आवासीय र जग्गा–घर धितोमा बढी ऋण लगानी गरेका छन्। तर जग्गा किनबेच घटेपछि ग्राहकले ऋण चुक्ता गर्न नसक्दा खराब कर्जा बढेको हो।