

श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको आईपीओ आजदेखि निष्कासन सुरु




काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज बुधबारदेखि आईपीओ निष्कासन गर्दैछ। उक्त कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पुँजीको १ प्रतिशत अर्थात् १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १ लाख ६३ हजार १२५ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो। सो सेयरमा रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ९ हजार ९३८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा भदौ २५ गते हुनेछ भने ढिलोमा असोज ९ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने निष्कासन बन्द छिटोमा भदौ १५ गते हुनेछ भने ढिलोमा भदौ २५ गते हुनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सिआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
सो कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नबिल बैंकको तानसेन, पाल्पा र फरसाटिकर शाखा, रुपन्देही, एनएमबि बैंकका तानशन, पाल्पा र फरसाटिकर शाखा तथा ग्लोबल आइएमई बैंकका तानसेन, पाल्पा शाखाबाट आवेदन दिन सक्नेछन्।