

पर्वतका १ हजार ९ सय घरमा धारा जडान गरियो




पर्वत । गत आर्थिक वर्ष २०८१/८२ मा पर्वतमा एक हजार नौ सय घरधुरीमा धारा जडान गरिएको छ । जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालित विभिन्न योजनाबाट ‘एक घर एक धारा’ विस्तार गरिएको हो । सरकारको लक्ष्य अनुसार खानेपानीको पहुँच विस्तार गरिएको खानेपानी तथा सरफाइ डिभिजन कार्यालयले जनाएको छ । योसँगै जिल्लाका १८ हजार २०० घरधुरीमा धाराको पहुँच पुगेको छ ।
कार्यालयका अनुसार गत आवमा सञ्चालनमा रहेका प्रदेशतर्फका ७४ आयोजना सम्पन्न भएका छन् । प्रदेश सरकारतर्फका योजनाबाट एक हजार २४२ घरधुरीमा धारा जडान गरिएका छन् । सङ्घीय शसर्त अनुदानतर्फका १८ वटा आयोजनाबाट ५५४ घरधुरीमा धारा जडान गरिएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिए ।
पौडेलकाअनुसार पुनःस्थापना कार्यक्रमअन्तर्गतका १८ वटा आयोजना सम्पन्न गरी थप ९६ घरधुरीमा धारा जडान गरिएको छ । खानेपानीको पहुँच पुगेपछि उपभोक्ताहरु हर्षित बनेका छन् । विगतमा खोला, कुवा, पँधेरा इनारलगायतका स्रोतबाट पानी उपभोग गर्ने गरेका नागरिकको घरमै धारा जडान गरिएको हो ।
खानेपानी योजनाका लागि गत आर्थिक वर्षमा कार्यालयले प्रदेशतर्फबाट १२ करोड ३९ लाख रूपैयाँ बजेट प्राप्त गरेको छ । जसमध्ये एक करोड ८९ लाख रूपैयाँ खर्च भइसकेको कार्यालय प्रमुख पौडेलले बताए। सङ्घीय शसर्त अनुदानबाट एक करोड ५९ लाख रूपैयाँ बजेटमा एक करोड ५२ लाख खर्च गरेको हो । पुनःस्थापना कार्यक्रमका लागि प्राप्त एक करोड आठ लाख रूपैयाँ बजेटमा एक करोड तीन लाख रूपैयाँ खर्च गरेर आयोजना सम्पन्न भएको जनाइएको छ ।
कार्यालयले सङ्घीय र प्रदेश गरी कूल १५ करोड छ लाख बजेटमा १४ करोड ८६ लाख रूपैयाँ खर्च गरी कुल ९८ प्रतिशत प्रगति हासिल गरेको डिभिजन प्रमुख पौडेलले बताउनुभयो । ३५ हजारभन्दा बढी घरधुरी रहेको पर्वतमा १७ हजार घरधुरीमा धारा जडान बाँकी छ ।