

नाडा अटो शो २०२५ ऐतिहासिक रुपमा सफल भएको अध्यक्ष चौधरीको उद्घोष




काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ लाई ऐतिहासिक अटो शो भएको बताएका छन्। आइतबार सम्पन्न समापन कार्यक्रममा सम्बोधन गर्दै उनले यो पटकको अटो शोले नयाँ कीर्तिमान बनाएको र यसलाई आफ्नो ठूलो सफलता पनि मानेको बताए।
उनका अनुसार नाडा अटो शोले हरेक संस्करणलाई अभिष्मरणीय बनाउँदै ल्याएको छ। उनले भने, ‘एकपछि अर्को उत्कृष्ट नाडा अटो शो हुँदै आएको छ। यस पटक करिब १ लाख ६० हजार अवलोकनकर्ता सहभागी भए र सबैजना अत्यन्त खुसी देखिए। अटो शोमा सहभागी कम्पनीहरू पनि उत्साहित भएको पाएको छु।’
अध्यक्ष चौधरीले १७औं संस्करण सम्पन्न भएसँगै अब १८औं अटो शोबारे सोच्ने समय आएको पनि बताए। उनले भने, ‘१७ सक्यो, १८ मा के गर्न सकिन्छ भनेर भोलिबाटै सोच्नुपर्छ।’
सम्बोधनमा उनले नेपालले अब उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए। ‘उत्पादन जुन दिन सुरू हुन्छ, त्यही दिनदेखि देश बन्न थाल्छ’ उनले भने, ‘नाडालाई कसैले होच्याउन सक्दैन। आज आएर नयाँ नाडा बनाउँछु भनेर कसैले सक्दैन।’
उनले नाडा अटो शोले अटो क्षेत्र मात्र नभई नेपालको हरेक क्षेत्रलाई देखाउने अवसर दिएको बताए। चौधरीले जोड दिँदै भने, ‘जुन दिन उत्पादन र उत्पादनमूलक हुनेछ, त्यही दिनबाट यो देश समृद्ध बन्ने छ। हामीले विश्वासको नयाँ ढोका खोलेका छौं, भविष्य निर्माण गर्ने ढोका खोलेका छौं।’