

भूतपूर्व मुख्यसचिव बैकुण्ठ अर्याल विरुद्धको मुद्दामा अख्तियारद्वारा पुनरावेदन




काठमाडौं । अख्तियारले अन्तःशुल्क स्टिकर छपाई सम्बन्धी भ्रष्टाचारमा भूतपूर्व मुख्यसचिव बैकुण्ठ अर्याल समेतलाई सफाई दिने विशेष अदालतको फैसलालाई चुनौती दिंदै सर्वाेच्च अदालतमा पुनरावेदन गराएको छ।
अख्तियारले अन्तःशुल्क स्टिकर छपाई गर्दा ३८ करोड ६७ लाख १७ हजार रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै १२ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा चलाएको थियो।
विशेष अदालतले गत मंसिर १३ गते फैसला गर्दै केही प्रतिवादीलाई सफाई र केहीलाई आंशिक ठहर गरी फैसला गरेको थियो। जसमा अर्याललाई सफाई दिएको थियो।
विशेष अदालते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव एवम् सुरक्षण मुद्रण विकास समितिका तत्कालीन अध्यक्ष डा.वैकुण्ठ अर्याल, आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक रितेश कुमार शाक्य, उपमहानिर्देशक टंक प्रसाद पाण्डेय, निर्देशक गणेश विक्रम शाही, शाखा अधिकृत रविन्द्र प्रसाद पौड्याल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन शाखा अधिकृत हरिबल्लभ घिमिरे, लेखा अधिकृत प्रतिवादी विष्णु प्रसाद गौतम र प्रिन्ट सेल प्राइभेट लिमिटेड तथा सोका निर्देशक एवम् संचालक केशव शर्मा समेतलाई आरोप दावीबाट सफाई दिएको थियो।
त्यसैगरी सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई आरोप दावीभन्दा कम सजाय गर्ने गरी भएको फैसलालाई चुनौती दिंदै पुनरावेदन गराएको हो।