

न्यूखोलामा झोलुंगे पुल बनेपछि १ घण्टाको बाटो ३० मिनेट




म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको यात्रा ३० मिनेटमा छोटिएको छ ।
मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको मङ्गला गाउँपालिका–४ का मनमाया चोचाङ्गीले बताए ।
‘धापुङ्ग र महेश गाउँका एक सय पाँच घरपरिवारलाई वडा कार्यालय जान एक घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ,’ उनले भने, ‘बर्खामा न्युखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता पनि हटेको छ ।’
५७ लाख १० हजार ८६० रुपैयाँ लागत अनुमान गरिएको पुल उपभोक्ता समितिबाट निर्माण गरिएको हो । उपभोक्ता समितिले ६४ हजार नौ सय ६१ रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।
११ लाख ६६ हजार ४२४ रुपैयाँमा स्टिल पार्टस खरिद र उपभोक्ता समितिलाई ३१ लख ८३ हजार ९१ रुपैयाँ भुक्तानी भएको मङ्गला गाउँपालिकाका प्राबिधिक शाखा प्रमुख सबइञ्जिनियर रुचेन्द्र अधिकारीले बताए ।