

आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ६६ अर्ब वैदेशिक व्यापारमा १ खर्ब १९ अर्ब घाटा




काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा १ खर्ब ६६ अर्ब माथिको वैदेशिक व्यापार भएको अवस्था छ । त्यस्तो तथ्यांक भन्सार विभागले शुक्रबार प्रकाशन गरेको हो ।
सोही तथ्यांक अनुसार चालु वर्षको पहिलो महिनामा वैदेशिक व्यापार १८.७५ प्रतिशतले वृद्धि भएको देखिन्छ।
चालु वर्षको साउन महिनामा एक खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदै गर्दा यता नेपालबाट जम्मा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको यसै महिना एक खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ बराबरको आयात हुँदै गर्दा निर्यात १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र भएको थियो ।
समीक्षा अवधिमा आयात ११.४२ प्रतिशतले वृद्धि भएको छ भने निर्यात अधिकतम ९५.७५ प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ ।
समीक्षा महिनामा कूल एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदै गर्दा असमान घाटा मात्र नेपालले यस महिनामै एक खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ व्यहोरेको छ । अघिल्लो वर्षको यसै महिनामा एक खर्ब १६ अर्ब रुपियाँ घाटा व्यहोरेको नेपालले यस वर्ष आयात र निर्यात दुबै वृद्धि गर्दैगर्दा पनि घाटा २.५५ प्रतिशतले व्यहोर्न पुगेको हो ।
समीक्षा महिनाको आयात निर्यात अनुपात ५.९८ प्रतिशत रहेको छ भने कूल व्यापारमा आयातको हिस्सा अधिकतम् ८५.६७ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा १४.३३ प्रतिशत मात्र रहेको विभागले जनाएको छ ।