

प्रष्ट बुझेर बीमा गरे निकै हदसम्म दाबीका समस्या हल हुने सीईओ गौतमको भनाई




काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गौतमले बीमा क्षेत्रका विद्यमान दाबी भुक्तानीको समस्या समाधान गर्ने उपाय सुझाएका छन् । सीईओ गौतमले बीमालाई प्रष्ट रुपमा बुझेर गरिएको खण्डमा त्यस्ता समस्याको समाधान हुने औँल्याएका हुन् ।
यता, राजधानीस्थित भृकुटीमण्डपमा सञ्चालित नाडा अटो शोमा आज एक कार्यक्रममा नेपालमा सार्वजनिक यातायातः समस्या र समाधान विषयको प्यानल डिस्कसनमा बोल्दै उनले त्यस्तो धारणा दिएका हुन्।
‘देशका विभिन्न ठाउँहरुमा मोटर दुर्घटना हुन्छन् । त्यसको दावी त बीमा कम्पनीमा पर्छ । तर, दावी भुक्तानीको विषय सम्बन्धित कम्पनीको मात्र नभएर अन्य थुप्रै कुरामा ध्यान दिनु पर्छ ।’ सीईओ गौतम भन्छन्, ‘घटनाको प्रक्रिया के छ त्यो घटनामा बीमा दावीको शर्तमा पर्छ की पर्दैन ? अनी नेपाल प्रहरीको रिपोर्ट, अस्पतालको रिपोर्ट र सर्भेयरको रिपोर्ट आएपछि मात्र दावी भुक्तानी हुन्छ।’
‘नेपालमा बीमा दावी भुक्तानीमा निकै समस्या तथा ढिलासुस्ती छ । त्यो म पनि मान्छु । तर, दावी भन्दा बाहिरका कुराहरुमा समेत दावी माग गरी बीमितहरुले कतिपय अवस्था तथ्यहिन कुराहरु पनि फैलाउने गरिदिएको छ ।’ उनले थपे, ‘तपाई हामीले यस्ता कुराहरुबाट समेत हुन आवश्यक छ ।’
सोही कार्यक्रममा सीईओ गौतमले युरोपियन देशको तुलनामा नेपाली बीमा बजार निकै पछाडी रहेको समेत प्रतिक्रिया दिएका छन् । उनले भने, ‘बीमा भनेको सबैभन्दा बढी प्रतिस्पर्धा भएको व्यवसाय हो । त्यसैले बीमा बजारमा ग्राहकहरुलाई सन्तुष्ट बनाउनु पनि बीमा कम्पनीहरुको लागि निकै महत्वपूर्ण कुरा रहेको छ ।’
कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले यातायात समस्या समाधानको लागि सरकार निकै सक्रिय रुपमा लागिरहेको सुनाए । उनले आफूहरु यातायात तथा पुर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखि अघि बढेकोमा जोड दिएका हुन् ।