शेयर बजारमा दोहोरो अंकको गिरावट,कारोबार रकम पनि घट्यो
काठमाडौं । लगातार दुई दिनको वृद्धि भएको नेप्से परिसूचक आज घटेर बन्द भएको छ । अघिल्ला दुई दिन दोहोरो अंकले बढेको शेयर बजार आज ११ अंकले घटेर बन्द भएको हो ।
आज शेयर बजार परिसूचक ११ दशमलव २४ अंकले घटेर २७४८ दशमलव ९६ विन्दुमा पुगेको छ । आज शेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८० कम्पनीको मात्रै मूल्य बढेको छ । त्यस्तै ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९३ अंकले घटेर ४८८ दशमलव ७८ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ३ वटा उपसूचकको शेयर मूल्य बढेको छ भने बाँकी १० वटाको घटेको छ ।
आज शेयर बजारमा परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ११ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज पौने ८ अर्ब बढीको मात्रै कारोबार भएको छ । मंगलबारको कारोबार बन्द हुँदा शेयर बजारमा ३१२ कम्पनीका १ करोड ६७ लाख ८६ हजार ९२३ कित्ता सेयर ८२ हजार ५७० पटक खरिद बिक्री हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबार बन्द हुँदा ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।