

विश्वव्यापी संकट बन्दै वातावरण प्रदूषण




वातावरण प्रदूषण आधुनिक मानव सभ्यताको एक प्रमुख चुनौती हो। यो समस्याले मानव स्वास्थ्य, जैविक विविधता, अर्थतन्त्र र समग्र पर्यावरणीय सन्तुलनलाई गम्भीर रूपमा प्रभावित पारिरहेको छ। औद्योगिकीकरण, शहरीकरण र जीवाश्म इन्धनको अत्यधिक प्रयोगले हावा, पानी, माटो र समुद्रलाई प्रदूषित बनाएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार, वायु प्रदूषणले मात्रै विश्वभरि सन् २०२१ मा ८१ लाख मानिसको अकाल मृत्यु भयो, जुन उच्च रक्तचाप पछि मृत्युको दोस्रो प्रमुख कारक हो। यो संख्या सन् २०३० सम्ममा अझ बढ्ने अनुमान गरिएको छ, किनकि विश्वका ९९ प्रतिशत शहरी बासिन्दा प्रदूषित हावामा सास फेर्न वाध्य छन्। कार्बन डाइअक्साइड जस्ता ग्रीनहाउस ग्यासको उत्सर्जनले जलवायु परिवर्तनलाई तीव्र बनाएको छ।
नेपाल जस्ता विकासशील देशहरूमा यो समस्या झन् जटिल छ। विश्व बैंकको सन् २०२५ को एउटा प्रतिवेदन अनुसार, नेपालमा वायु प्रदूषण स्वास्थ्य जोखिमको प्रमुख कारक हो। वायु प्रदूषणले नेपालमा वार्षिक २६ हजार मानिसको अकाल मृत्यु गराइरहेको छ र सरदर आयू ३.४ वर्ष घटाउँदैछ। नेपालको पर्यावरणीय सूचकाङ्क (इपिआइ) सन् २०२४ मा १६५ औं स्थानमा थियो। यो सूचकाङ्कबाट नेपालमा पर्यावरणीय स्वास्थ्य र पारिस्थितिकीय प्रणाली कमजोर हुँदैछ भन्ने देखिन्छ।
विश्व सन्दर्भमा वातावरण प्रदूषण
विश्वव्यापी रूपमा वातावरण प्रदूषणको समस्या १९ औं शताब्दीदेखि औद्योगिक क्रान्तिसँगै शुरू भएको हो। तर २१ औं शताब्दीमा यो विश्वव्यापी संकट बन्न पुगेको छ। वातावरण प्रदूषणका मुख्य प्रकारहरूमा वायु प्रदूषण, जल प्रदूषण, माटो प्रदूषण र प्लास्टिक प्रदूषण पर्छन्। वायु प्रदूषणको मुख्य स्रोत जीवाश्म इन्धन (तेल, ग्यास, कोइला) को अत्यधिक दोहन हो, जसले कार्बन डाइअक्साइड, नाइट्रोजन अक्साइड र सूक्ष्म कणहरू (पियम २.५) उत्सर्जन गर्छ।
स्टेट अफ ग्लोबल एयर रिपोर्ट २०२४ का अनुसार, वायु प्रदूषणले सन् २०२१ मा संसारभर ८१ लाख मानिसको मृत्यु गरायो, जसमध्ये ७० प्रतिशत विकासशील देशका बासिन्दा थिए। युरोपमा पियम २.५ ले सन् २०२४ मा २ लाख ३९ हजार जनाको मृत्यु गरायो। एशियामा यो संख्या अझ वढी रहेको अनुमान छ।
जल प्रदूषण गराउने तत्वहरूमा रसायनिक फोहोर, प्लास्टिक र औद्योगिक उत्सर्जन मुख्य छन्। विश्वमा वार्षिक दुई करोड तीस लाख टन फोहोर प्लास्टिक पानीमा मिसिएर जल प्रदूषण गराउँछ। यसले समुद्र, नदी र तालहरूलाई प्रदूषित बनाउँछ। सन् २०२५ सम्ममा समुद्रमा सात करोड ५० लाखदेखि २० करोड टन प्लास्टिक फोहोर मिसिएको छ। यसबाट समुद्री जीवहरू मर्नुका साथै खाद्य श्रृंखलालाई प्रभावित पारिराखेको छ।
माटो प्रदूषणले कृषि उत्पादन घटाउँछ; रसायनिक मल र कीटनाशकहरूले माटोको उर्वरता कम गर्छ। जलवायु परिवर्तनले प्रदूषणलाई बढाउँछ, जस्तै, बढ्दो तापक्रमले ओजोनको तह बिगार्छ र बाढीले फोहोर फैलाउँछ। सन् २०२५ को ग्लोबल रिस्क रिपोर्टका अनुसार, मानव स्वास्थ्यका लागि प्रदूषण १० प्रमुख जोखिमहरूमा पर्छ।
नेपालमा वातावरण प्रदूषण
नेपालमा वातावरण प्रदूषणको समस्या सन् १९९० को दशकदेखि तीव्र हुन थालेको हो। शहरीकरण र औद्योगिकीकरण बढेसँगै वातावरणको समस्या पनि बढ्न थालेको हो। विश्व बैंकको ‘टुवार्ड्स् क्लिन एयर इन नेपाल’ शीर्षकको प्रतिवेदन २०२५ अनुसार, वायु प्रदूषण नेपालको प्रमुख स्वास्थ्य जोखिम हो, जसले वर्षेनी २६ हजार अकाल मृत्यु गराइराखेको छ।
काठमाडौं उपत्यकामा पियम २.५ को स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सीमाभन्दा ४.९ गुणा बढी छ। जल प्रदूषण गम्भीर छ; बागमती जस्ता प्रमुख नदीहरूमा ९५ प्रतिशत फोहोर पानी प्रशोधन बिना मिसाइन्छ, जसले इ कोलाइ जस्ता तत्वको स्तर बढाएको छ। सन् २०२५ को शुरूमा गरिएको एउटा अध्ययन अनुसार, बागमती नदी अत्यधिक प्रदूषित छ, जसमा तल्लो तटीय क्षेत्रमा प्रदूषण बढी छ।
नेपालको शहरी क्षेत्रले दैनिक ८५० टन प्लास्टिक फोहोर उत्पादन गर्छन्, जसमध्ये ८० प्रतिशत एकल प्रयोगका खाद्य र पेय प्याकेजिङसँग सम्बन्धित हुनेगर्छ। काठमाडौं उपत्यकामा मात्र दैनिक ६०० मेट्रिक टन फोहोर उत्पादन हुन्छ, जस मध्ये १६ प्रतिशत प्लास्टिक हो। यस मध्ये २ प्रतिशत प्लाष्टिक फोहोर मात्र पुन: प्रयोग हुन्छ। इपिआइ २०२४ का अनुसार, नेपालको जलस्रोत गुणस्तर १३.२/१०० मात्र छ, र समग्र इपिआइ अंक ३३.१ छ। माटो प्रदूषणले तराईको कृषि क्षेत्र प्रभावित छ। तराइमा रसायनिक मल र विषादीको प्रयोग वर्षेनी व्यापक रूपमा बढ्दैछ।
प्रदूषणको समस्या गम्भीर छ
नेपालमा वातावरण प्रदूषणका समस्याहरूको विश्लेषण गर्दा निम्न पक्ष देखिन्छ:
- वायु प्रदूषण: सवारी साधन (३८ प्रतिशत), इँटा भट्टा (२८ प्रतिशत), उद्योग र धुलो नेपालमा वायु प्रदूषणका मुख्य स्रोत हुन्। तराईमा सीमापार प्रदूषण (भारतबाट) ले पियम २.५ को स्तर बढाउने गरेको छ। ऐतिहासिक रूपमा, सन् २००० देखि काठमाडौंको वायु गुणस्तरमा ह्रास आएको हो। वायु प्रदूषणबाट उत्पन्न हुने रोगहरूले मृत्युदर ४३ प्रतिशत बढाएको छ। यदि यो अवस्थालाई नियन्त्रण गर्न सकिएन भने सन् २०३० सम्ममा यो समस्या दोब्बर हुने अनुमान छ।
- जल प्रदूषण: घरेलु फोहोर (६० प्रतिशत), औद्योगिक रसायनिक फोहोर र कृषि मल जल प्रदूषणका मुख्य कारक हुन्। बागमती नदीमा गरिएको एउटा अध्ययनले यो पवित्र नदी फोहोरको डम्पिङ साइट बनेको देखाएको छ।
- प्लास्टिक प्रदूषण: एक पटक मात्र प्रयोग गरेर फालिने प्लास्टिकले माटो, पानी र हिमाली क्षेत्रमा नराम्ररी प्रदूषण बढाएको छ। नेपालमा वार्षिक एक लाख ६५ हजार टन प्लास्टिक उत्पादन हुन्छ। यस मध्ये २ प्रतिशत मात्र पुन: प्रयोग हुने गरेको छ। हिमाली क्षेत्रमा ८० प्रतिशत प्लास्टिक फोहोर खाद्य प्याकेजिङबाट आउँछ। यो फोहोरले माइक्रो प्लास्टिक खाद्य श्रृंखलामा मिसिएर क्यान्सर जस्ता रोगको जोखिम बढाइराखेको छ। यदि नियन्त्रण गर्न सकिएन भने सन् २०४० सम्ममा यो फोहोर तीन करोड टन पुग्ने अनुमान छ।
- माटो प्रदूषण: रसायनिक मल र कीटनाशकको अधिक प्रयोगले माटोको उर्वरता घटाउँछ, जसले कृषि उत्पादनमा २०-३० प्रतिशत ह्रास ल्याउँछ। तराईमा यो समस्या बढी छ।
उपरोक्त वातावरणीय समस्याको मुख्य कारण तीव्र शहरीकरण, फोहोरको उचित व्यवस्थापनको अभाव र मानिसहरूमा लापरवाही हो। वातावरण संरक्षण ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या झन् बढ्दै गएको छ।
वातावरण प्रदूषणका प्रभावहरू
वातावरण प्रदूषणले नेपालमा बहुआयामिक प्रभाव पारेको छ:
- स्वास्थ्यमा प्रभाव: वायु प्रदूषणले दम, क्यान्सर, मुटु रोग र बालबालिकामा एलर्जी बढाएको छ। सन् २०३० सम्ममा वायु प्रदूषणका कारण वर्षेनी २४ हजार मृत्यु हुने अनुमान छ। जल प्रदूषणले हैजा, टाइफाइड जस्ता रोगहरू फैलाउँछ, जबकि प्लास्टिकले माइक्रो प्लास्टिकहरूबाट क्यान्सरको जोखिम बढ्छ। विश्व स्वास्थ्य संगठनका अनुसार, वायु प्रदूषणले युवा मस्तिष्कलाई पनि प्रभावित गर्छ।
- आर्थिक प्रभाव: प्रदूषणले कूल गार्हस्थ उत्पादनमा ६ प्रतिशत नोक्सानी पुर्याउँछ, जसमा स्वास्थ्य खर्च (वार्षिक १० अर्ब नेपाली रुपैयाँ) र उत्पादकत्व ह्रास समावेश छ। वातावरण प्रदूषणले पर्यटनलाई समेत प्रभाव पारेको छ। जस्तै प्रदूषित बागमतीले सांस्कृतिक पर्यटन घटाएको छ।
- पर्यावरणीय प्रभाव: वातावरण प्रदूषणले जैविक विविधतामा ह्रास ल्याउँछ, जस्तै, समुद्री जीवहरूको मृत्यु र वन विनाश। एपिआइका अनुसार, नेपालको कृषि उत्पादन सूचक ५९.३ मात्र छ। जलवायु परिवर्तनले प्रदूषण बढाउँछ। बाढीले फोहोर फैलाउँछ।
समाधानका उपाय
समाधानका लागि बहुपक्षीय दृष्टिकोण आवश्यक छ:
- सरकारी स्तरमा: वातावरण संरक्षण ऐन २०७६ को कडा कार्यान्वयन र उद्योगमा प्रदूषण नियन्त्रण प्रविधि अनिवार्य गर्नु आवश्यक छ। काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०२० ले वायु प्रदूषण ५० प्रतिशत घटाउने लक्ष्य राखेको छ। विद्युतीय सवारी प्रोत्साहन, नदी सफाइ अभियान र प्लास्टिक प्रतिबन्ध जस्ता कार्यक्रम कार्यान्वयन गरिनु पर्छ। जल प्रदूषण नियन्त्रणका लागि फोहोर प्रशोधन प्लान्टहरू निर्माण गरिनु पर्छ।
- सामुदायिक र व्यक्तिगत स्तरमा: रिड्युस, रियुज, रिसाइकल, रिफ्यूज र रोट जस्ता ५ आर विधि अपनाउने, जैविक मलको प्रयोग वढाएर रसायनिक मलको प्रयोग घटाउने जस्ता काम गरिनु पर्छ। जनचेतना बढाउन विद्यालय, सञ्चार माध्यम र गैरसरकारी संस्थाहरूले काम गर्नु पर्छ।
- अन्तर्राष्ट्रिय स्तरमा: ग्लोबल प्लाष्टिक ट्रिटी जस्ता सम्झौताहरूमा राष्ट्रहरूको सहभागिता बढ्नु पर्छ।
निष्कर्ष
वातावरण प्रदूषण नेपाल र विश्वका लागि साझा संकट हो, जसले स्वास्थ्य, अर्थतन्त्र र पर्यावरणलाई नष्ट गर्दैछ। तर, विश्व स्वास्थ्य संगठन को सन् २०४० सम्म वायु प्रदूषणबाट मृत्यु आधा घटाउने लक्ष्य र नेपालको क्लिन एयर पहल जस्ता कार्यक्रमले आशा जगाएका छन्। सबैको सहभागिताले स्वच्छ वातावरण सुनिश्चित गर्न सकिन्छ।
सन्दर्भ सूची
- https://www.healtheffects.org/announcements/new-state-global-air-report-finds-air-pollution-second-leading-risk-factor-death
- https://www.healtheffects.org/announcements/new-state-global-air-report-finds-air-pollution-second-leading-risk-factor-death
- https://www.worldbank.org/en/news/press-release/2025/06/17/air-pollution-is-the-number-one-health-risk-factor-in-nepal
- https://epi.yale.edu/country/2024/NPL
- https://www.stateofglobalair.org/resources/report/state-global-air-report-2024
- https://www.cleanairfund.org/news-item/roundup-march-2025
- https://www.unep.org/plastic-pollution
- https://www.greenmatch.co.uk/ocean-pollution-facts
- https://earth.org/the-biggest-environmental-problems-of-our-lifetime
- https://www.weforum.org/stories/2025/07/global-plastics-treaty-inc-5-2-explainer
- https://openknowledge.worldbank.org/entities/publication/ceb454f5-fbcb-46d7-9506-5deda6ca8d6b
- https://documents.worldbank.org/en/publication/documents-reports/documentdetail/099060525033528377
- https://ui.adsabs.harvard.edu/abs/2025AJWEP..22…42P/abstract
- https://risingnepaldaily.com/news/63041
- https://kathmandupost.com/health/2025/06/18/air-pollution-is-top-cause-of-death-and-disability-in-nepal
- https://www.thinkglobalhealth.org/article/polluted-rivers-create-public-health-crisis-nepal
- https://www.cleanairfund.org/news-item/wha-approves-roadmap
*पुनिता कुमारी साह रूपनगर नन्दराज संग्रौला क्याम्पसमा बिबियस तेश्रो वर्षकी छात्रा हुन्।
स्रोत: रूपनगर क्याम्पस फिचर सेवा।