

सिद्धार्थ बैंकको नाफा ३ अर्ब ३९ करोड, नाफासँगै इपीएस बढ्यो, लाभांश क्षमतामा उच्च वृद्धि




काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १०.२५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ८ करोड २८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ रहेको छ । सेवा शुल्क र अन्य आम्दानी १५.०९ प्रतिशतले बबढेर १ अर्ब ६४ करोड १५ लाख रुपैयाँ रहेको छ ।
बैंकको सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतले बढेर ११ अर्ब १५ करोड ६८ लाख रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा ५ अर्ब २ करोड ९८ लाख रहेको छ । बैंकले गत आवमा थप १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ ।
बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२० प्रतिशत बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता १३.२२ प्रतिशत छ ।
बैंकले २ खर्ब ८० अर्ब ३२ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १४ अर्ब ५४ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गसेको छ । बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ४ करोड १३ लाख रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ १० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा रहेको छ । बैंकको खराब कर्जा २.६२ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा २.१७ प्रतिशत थियो ।